aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिम्याट खातामध्ये ३२ प्रतिशत निष्क्रिय

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २१ फागुन २०७९
डिम्याट खातामध्ये ३२ प्रतिशत निष्क्रिय

काठमाडौं । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो समयदेखि खाता नवीकरण समेत नभएको बताए। उनका अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ ।

कुनै पनि लगानीकर्ताले दुईओटा हितग्राही खाता खोलेको खण्डमा दुवै खाता सञ्चालनमा रहेको हुनुपर्ने सीडीएससीका प्रवक्ता न्यौपानेको भनाइ छ । हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा नभएको न्यौपानेले जानकारी दिए ।

वार्षिक सय रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार हाल निष्क्रिय रहेका खाता पुनः सञ्चालनका लागि नवीकरण लागत पनि बढी हुने भएकाले ती खाताहरू बन्द गराउँदा नै प्रभावकारी हुने न्यौपानेको भनाइ छ । घरमै बसेर नवीकरण गर्न सकिने व्यवस्था भएको अवस्थामा लामो समयदेखि नवीकरण नभई निष्क्रिय रहेका ती खाता सञ्चालनमा लगानीकर्ताले समेत चासो नदिएको उनको बुझाइ छ ।

ुनिष्क्रिय खाता कायम राखेर संख्या मात्र बढाउनुको अर्थ छैन,ु उनले भने, ुनियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।ु नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्छ ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खातामध्ये ३२ प्रतिशत निष्क्रिय हुनुको पछाडि एकै परिवारका धेरै सदस्यको नाममा खोलिएको हुनसक्ने अनुमान लगाए । 

प्रतिक्रिया दिनुहोस