aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ईङवा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्र परितर्वन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
ईङवा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्र परितर्वन

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले फागुन २१ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ खरीदका लागि आवेदन दिने स्थानीयको क्षेत्र परिवर्तन गरेको हो । 

फागुन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नम्बर २, (साविक फलैचा गाउँ विकास समिति वडा नम्बर १ देखि ९)  सम्म, याङवरक गाउँपालिका वडा नम्बर ३, (साविक ओयाम गाउँ विकास समिति नम्बर १ देखि ९) सम्म र ताप्लेजुङ्ग जिल्ला सदिङ्गवा गाउँपालिका (साविक आङखोप गाउँ विकास समिति वडा नम्बर १ देखि ९) सम्मका स्थानीयमा आईपीओ जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि पनि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेकोे हो ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आगामी चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

यस आयोजनाका निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट औषत लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस