
रामपुर । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छन् । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउँछिन् । “आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ”, उनले भनिन् ।
उनले करिब साढे छ क्विन्टल सेरिटा, खुमल, उज्जवल जातको आलु लगाएकी हुन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छन । आलु खेतीबाटै उनको परिवारको जीविका चलेको छ । “आलु लगाउन थालेपछि घरायसी व्यवहार चलाउन सहज भएको छ”, उनले भनिन्, “राम्रो मलजल र उन्नत जातको बीउ प्रयोगले उत्पादन राम्रो भइरहेको छ, यस व्यवसायबाट सन्तुष्ट छु ।” यसै व्यवसायबाट दुई छोरालाई सहरमा कोठा भाडामा राखेर पढाइरहेकी छिन् । छोराको उज्वल भविष्यका लागि विगत सात वर्षदेखि आलु खेतीलाई व्यावसायिक उत्पादनमा जोड दिइरहेकी छिन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजार समस्याकै पिरलो हुने गरे पनि अहिले भने सो समस्या छैन । यो वर्ष करिब रु दुई लाख आम्दानी हुने उनको अनुमान छ ।
अघिल्ला वर्षमा उनले आलु खनेर सिधै भैरहवाको शीतभण्डारमा लगेर राख्थिन् । बीउ आलु भएकाले रोप्ने बेलामा महँगो मूल्यमा रामपुरमा ल्याएर बिक्री गरे तापनि यस पटक भने खायनका लागि खनेर सकिएपछि तत्काल बिक्री गर्ने उनी बताउँछिन् । खनेको आलु भण्डारण गरी रोप्ने बेला बीउ बिक्री गर्दा अघिल्ला वर्षमा रु पाँच÷छ लाख कमाइ गर्छन ।
रामपुर–६ की सीता भण्डारीले यस वर्ष १२ क्विण्टल आलु उत्पादन गर्नुभएको छ । खायन आलु उत्पादन गर्ने देवकोटा बर्सेनि उत्पादन राम्रो भएपछि व्यावसायिक उत्पादनमा हौसला बढेको बताउँछिन् । उत्पादित आलु गत वर्षदेखि चिप्स उत्पादक कम्पनीलाई बिक्री गर्दै आएकी छिन् । अहिले पनि चिप्सकै लागि बिक्री गर्ने तयारीमा रहेको उनी बताउँछिन् ।
“चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौँ, आलु बिकेन भन्ने पिरलो भएन, बिक्री गर्ने बित्तिकै हातमा पैसा परिहाल्ने, शीतभण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन”, उनले भनिन् । बिक्रीका लागि उनले हरेक वर्ष तीन रोपनी जग्गा छुट्टाएर आलु खेती गरिरहेकी छिन् । व्यावसायिक उत्पादन थालेपछि आर्थिक क्षेत्रमा बलियो बन्दै गएको उनको अनुभव छ । फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले यस वर्ष खायन आलु उत्पादन कार्यक्रम सुरु गरेपछि किसानको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन् । कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बीउ खरिद गरेर खेती गरेका छन् । “आलुको लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाबाट उत्पादनमा जोड दिएर विभिन्न कार्यक्रम गरिरहेका छौँ, व्यावसायिक उत्पादन गर्ने यहाँका किसानले आलुबाट राम्रो आयस्रोत लिन सफल हुनुभएको छ”, कृषि शाखा प्रमुख पाण्डेय भने ।
प्रतिक्रिया दिनुहोस