अहिले देशभरका सबै पालिकाहरुको एउटा साझा समस्याको खोजीमा छन्। त्यो हो, फोहोर व्यवस्थापन। उपयुक्त डम्पिङ्ग साइटको अभाव, स्थानीयको अवरोध र फोहोर सङ्कलनको लागि ठुलो धनराशिको खर्च सबैको लागि चुनौती बनेको छ। अझ काठमाडौं उपत्यकाको त मुख्य समस्या नै हो, फोहोर। तर, विगत लामो समय देखी नारामा मात्र सीमित रहेको फोहोरलाई मोहरमा बदल्ने काम गरेर रिकिशि कम्पोस्ट प्रालीले भने समस्याको समाधान मात्र दिएको छैन चुनौतीलाई अवसरमा कसरी बदल्ने भन्ने प्रमाण समेत पेश गरेको छ।
विगत पाँच वर्षदेखि मध्यपुर थिमि नगरपालिका वडा न. ४, विष्णुकुण्डमा रिकिशिले फोहोरबाट कम्पोस्ट मल बनाउँदै आएको छ। आफू २२ वर्ष जापानमा बस्दा सिकेको फोहोरबाट मल बनाउने प्रविधि उषा गिरीले नेपाल भित्र्याएकी हुन् । उनी रिकिशिकी प्रबन्ध निर्देशकसमेत हुन् । सुरुवातमा फोहोरबाट मल बनाउन सकिन्छ भन्दा उनको कुरा कसैले पत्याएनन् । तर, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुखलाई मल उत्पादन गरेर देखाउँछु भन्ने विश्वास दिलाएर मल बनाउन लागिन् ।
अन्ततः मल उत्पादन गरेपछि धेरै अचम्मित बनेको उनले सुनाइन् । उनले भनिन्, ‘सुरुमा मैले यो प्रविधिबाट मल बन्छ भन्दा धेरैले पत्याएनन् । हामीले भक्तपुर नगरपालिकामा काम सुरु गर्न धेरै कसरत गर्नु पर्यो । बल्लबल्ल कन्भिन्स गरेर मल उत्पादन गरेर देखाएको छौँ ।’
रिकिशिले भक्तपुर नगरपालिकालाई विश्वास दिलाएर मल उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । आफुहरुले जापनिज टेक्नोलोजी प्रयोग गरेर मल बनाउँदै आएको रिकिशि कम्पोस्ट प्रालीका बिजनेस एडभाइजर किरण गिरीले बताए । उनले भने, ‘हामीले जापानी प्रविधिबाट मल बनाउने गरेका छौँ। सबैभन्दा पहिले जापानी विधिबाट तोकोजाइ बनाउँछौँ । यसैलाई अन्य चिजमा मिसाएर कम्पोस्ट मल बनाउने हो । जसमा कुहिने फोहोर, गोबर, सुली र माटोसँग मिसाएर मल तयार पारिन्छ ।’
उनका अनुसार तोकोजाई मल बनाउनका लागि आवश्यक पर्ने मुख्य अङ्ग हो । तोकोजाइ खरानीजस्तो धूलो हुन्छ । यसलाई सीएनबिएम प्रविधि; सी–कार्बन, एन–नाइट्रोजन, बी–ब्याक्टेरिया र एम–मिनिरलबाट बनाइन्छ । भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, रूखबाट झरेका पात (सोतर) मा राम्रा ब्याक्टेरिया र रातो माटोमा मिनिरल तत्त्व पाइन्छ। यी नै चिजहरूबाट तोकोजाइ बनाइन्छ।
भुस, ढुटो, सोतर, रातो माटो र रिकिसीले जापानी प्रविधिमा बनाएको ब्याक्टेरिया मिसाएर राखेपछि ४८ घण्टामा त्यसको तापक्रम बढ्छ। यो ६० देखि ७० डिग्री तापक्रममा पुगेपछि यसमा भएका अनावश्यक ब्याक्टेरिया मर्छन् । अनि ६ देखि ७ दिनमा तोकोजाइ तयार हुन्छ । यसरी बनेको तोकोजाइलाई फोहोर वा मल बनाउन मिल्ने जेमा मिसाए पनि हुन्छ। जसबाट कम्पोस्ट मल बन्छ।
रिकिशिले बनाइरहेको मल नेपालको लागि नौलो र राम्रो रहेको गिरिको दाबी छ । उनले आर्थिक न्युजसँग भने, ‘रिकिशि कम्पोस्टले बनाइरहेको मल नेपालको लागि नौलो हो । तोकोजाइबाट बनाइएको मल गन्हाउँदैन । हामीले तयार पारेको मल प्रयोग गर्दा खेतीमा किरा लाग्दैन । माटोलाई कुनै असर गर्दैन । हामीले बनाएको मल प्रयोग गर्नेहरूलाई ग्यारेन्टी समेत दिन्छौँ ।’ रिकिशिले उत्पादन गरिरहेको मल न चिसो हुन्छ न त गन्हाउँछ नै । तर, धेरैले चिसो र गन्हाउने मल खोज्ने गरेको उनले बताए। कम्पोस्ट मल भन्ने बित्तिकै चिसो, गन्ध आउने हुनुपर्छ भन्ने मान्यता राख्न नहुने उनको सुझाव छ।
रिकिशिले अहिले भक्तपुरको ठिमी, सिन्धुलीको दूधौली नगरपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल, राप्ती नगरपालिकाको फोहोरमा तोकोजाइ हालेर कम्पोस्ट मल बनाइरहेको छ । तोकोजाइ बनाउनका लागि रिकिशिले व्यापारिक घराना साख: समूहसँग सहकार्य गरेको छ । तोकोजाइ बनाउन आवश्यक सबै सामग्री साख: ले व्यवस्था गर्छ । साख समूहसँगको सहकार्यपछि स्रोतसाधनको अभाव नभएको उनको भनाई छ । यसका साथै रिकिशिले तयार पारेको मल साख: समूहले नै बजारीकरण पनि गरेको छ ।
साख समूह आएपछि दुधौलीमा पाँच सय टन मल उत्पादन गरिसकेको छ । जहाँ गोबरबाट मल बनाइरहेको छ । सिन्धुलीको दूधौली नगरपालिका–७ मा रिकिशिले तोकोजाइ गोबरमा मिसाउँछ। त्यसलाई साखःले मल बनाएर बिक्री गर्दै आएको छ। तोकोजाइ बनाउने चाहिने सबै कच्चा पदार्थ साख: ले स्थानीय स्तरबाटै सङ्कलन गर्छ। गोबर धेरै चाहिने भएकाले किसानसँग किन्छ । जसलाई भण्डारण गर्नका लागि साख: समूहले ६० वटा टहरा बनाएको छ ।
रिकिशिले बनाइरहेको मल एकदमै हलुका छ । रिकिशिले सबैभन्दा ठुलो मात्रामा भक्तपुरमा नै मल उत्पादन गरिरहेको छ । जसका लागि मल बनाउने ठाउँ र तोकोजाइ मिसाउने फोहोर पालिकाले नै उपलब्ध गराइदिएको छ । त्यही तोकोजाइ हालेर नगनाउने र सरकारको मापदण्डअनुसारको मल बनाइरहेको छ ।
रिकिशिले भक्तपुरमा हाल मल उत्पादन गरिरहेको ठाउँमा पहिले डम्पिङ साइड रहेको थियो । तर, अहिले त्यही ठाउँमा मल उत्पादन भइरहेको छ । त्यस ठाउँमा पहिले नाक थुनेर हिँड्ने गरेका मानिसहरू अहिले मल बनाएको हेर्न आउने गरेको गिरीको भनाई छ ।
‘भक्तपुरको ठाउँ मल उत्पादनका लागि सानो भएको महसुस भएको छ। सुरुवातमा नगरपालिकाले २८ हजार घरधुरी संलग्न हुन्छन् भनेर सम्झौता भएको थियो । तर, त्यति संख्यामा घरधुरीहरू संलग्न भएनन्’ गिरीले भने ।
ठुलो मात्रामा मल उत्पादन गर्नका लागि विभिन्न पालिकाहरूसँग पनि छलफल भइरहेको उनले बताए । फोहोरको समस्या सबैभन्दा बढी काठमाडौं महानगरपालिकालाई रहेको छ । काठमाडौँको फोहोरबाट पनि कम्पोस्ट मल बनाउन सकिन्छ । यसका लागि रिकिशिले नगरप्रमुख बालेन साहसँग छलफल समेत गरिरहेको छ । काठमाडौं महानगरले रिकिशिसंग सहकार्य गर्ने हो भने महानगरको फोहोर व्यवस्थापन पनि हुने र धेरै मल उत्पादन गर्न सकिने उनको तर्क रहेको छ ।
काठमाडौं मात्रै होइन अन्य विभिन्न ठाउँबाट नगरप्रमुखहरुले समेत यो मलबारे चासो व्यक्त गरेका छन् । तर, धेरै ठाउँका नगरपालिकाहरूका प्रमुखहरू निरीक्षणमा आए पनि सुरु गरौँ भन्ने खालका त्यति धेरै नदेखिएको गिरीको गुनासो छ । नगरपालिका मात्रै नभएर सरकारले नै यस्तो मलमा लगानी गर्ने हो भने मल अभावको समस्या समाधान हुने उनको तर्क रहेको छ ।
उनका अनुसार रिकिशिले बनाएको मलको लागत पनि कम रहेको छ । स्थानीय तहहरूबाट सङ्कलित कुहिने फोहोरबाट यस्तो मल बनाउने भएकाले लागत धेरै कम हुन्छ। यो मल बजारमा प्रति केजीको ३५ रुपैयाँमा पाइन्छ । होलसेलमा प्रति केजी २५ रुपैयाँमा नै यो मल पाइन्छ । रिकिशिले कम्पोस्ट मल प्रतिबोरा सात सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
रिकिशि कम्पोस्ट मल विशेषगरि तरकारी बाली, धान बाली, आलु बाली, फलफूल बाली, गमलाको फूल, कौशी खेतीमा प्रयोग हुन्छ । ‘अर्ग्यानिक मल खेतीमा प्रयोग गर्यो भने किरा लाग्छ, उब्जनी हुँदैन भन्ने धेरैले भन्ने गरेका छन् । तर, त्यस्तो होइन । हामीले उत्पादन गरेको मल विषादीरहित भएकाले किसानहरूले ढुक्कले प्रयोग गर्न सकिन्छ । यो मल बालीमा प्रयोग गर्दा माटो खुकुलो बनाउँछ । जराले अक्सिजन लिन पाउँछ । उर्वर शक्ति बढाउन सहयोग पुग्छ’, गिरीले भने ।
रिकिशिले उत्पादन गरिरहेको मललाई सरकारले प्रवर्धन गर्नु पर्ने उनको भनाई छ । रिकिशिले उत्पादन गरिरहेको मल देशभर विस्तार गर्ने हो भने मल आयात गर्नु नपर्ने गिरीको भनाई रहेको छ । उनले भने, ‘नेपालभर मल आयात रोक्नका लागि पर्याप्त मात्रामा गाईभैसी र कुखुरा पालन गर्नु पर्ने हुन्छ । यसले तीन कुरामा फाइदा पुग्छ । एउटा मल र अर्को दूध दही र मासुमा आत्मनिर्भर हुने भयौँ ।’
त्यस्तै, उनले बजार अनुगमनका क्रममा फेला परेका उपभोग मिति गुज्रिएका वस्तुहरू रिकिशिलाई दिने हो भने त्यस कम्पनीले मल बनाउने बताए । गिरीले भने, ‘बजार अनुगमनको क्रममा धेरै मात्रामा मिति नाघेका वस्तु फेला परेका हुन्छन् । उनीहरूलाई व्यवस्थापनका लागि समस्या हुने गरेको छ । तर, त्यो वस्तु हामीलाई दिने हो भने हामी मल बनाउन सक्छौँ ।’
प्रतिक्रिया दिनुहोस