aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा मिडिल तमोरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
सानिमा मिडिल तमोरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर एक सयका दरले ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता शेयर निष्काशन गरेको छ । यसअघि  कम्पनीले आफ्नो जारी पुँजी  तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्काशन र बाँडफाँट गरेको थियो ।

त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषलाई निष्काशन र बाँडफाँट गरिएको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० सम्म आवेदन खुला रहने छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आर्इपिओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस