aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तरकारी खेतीमा आँसु धेरै की हाँसो ? यस्तो छ उपत्यकाका किसानको अनुभव

  • इश्वरी थापा
    इश्वरी थापा
  • आइतबार, २८ फागुन २०७९
तरकारी खेतीमा आँसु धेरै की हाँसो ? यस्तो छ उपत्यकाका किसानको अनुभव

काठमाडौँ। तरकारी खेतीले किसानलाई दिएको आँसु र हाँसो दुवै खालका समाचार हामि बारम्बार पढ्ने, सुन्ने गर्छौँ। के तरकारी खेती गर्ने किसानहरू घाटा लागेर बिरक्तिएका नै छन् त ? वा, नाफामा रमाइरहेका छन् ? यो प्रश्नको जवाफ खोज्न थानकोट मुन्तिरका फाँटमा पुग्दा आंशिक जवाफ पाइयो। 

काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम कुनामा अवस्थित थानकोट डाँडा मुनिको फाँटमा अनगिन्ती प्लास्टिकले ढाकेका टनेलहरू देखिन्छन्। त्यस मध्ये एक हो, २२ वर्षीय युवती दुर्गा रोक मगरले बनाएको टनेल। जसमा उनी गोलभेँडा खेती गर्दै आएकी छिन्। 

चन्द्रागिरि नगरपालिका वडा न. ३ मा पर्ने यो स्थानमा उनले खेती गर्न थालेको एक वर्ष पनि पुगेको छैन। तर, गोलभेँडा खेतीबाट फाइदा हुने निष्कर्षमा भने उनी पुगिसकेकी छिन्। जम्मा ४ रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएकी उनले त्यतिको लागि लगानी भने मनग्गे नै गरेकी छिन्। गत जेठमा खेती सुरु गरेयता उनको ८ लाख १५ हजार रुपैयाँ खर्च भैसकेको छ। 

'बिरुवा लगाएको ६ महिनामा गोलभेँडा बेच्न सकिने रहेछ। त्यो बेचेर आधा जस्तो पैसा चाहिँ मैले उठाइसकेँ।' उनी भन्छिन्, ' यो टनेल ५ वर्षसम्म चल्छ। अब धेरै लगानी गर्नुपर्ने हुँदैन। त्यसैले नाफा हुन्छ भन्ने देखियो।'  

उनका अनुसार हालसम्म भएको लगानीको ठुलो हिस्सा पूर्वाधारमा नै हो। टनेल बनाउन १ लाख ३८ हजारको बाँस नै लाग्यो। प्लास्टिक एक लाख, तार जाली किन्न एक लाख, सिँचाइको लागि पाइप २५ हजारको उनले खरिद गरेको बताइन्। संरचनामा भएको अरू खर्च भनेको आफू बस्ने टहरो बनाउन ७० हजार खर्च भो। 

उनले खेतीमा गरेको खर्चको हिसाब हर्दा पनि नाफा नै देखिन्छ। गोलभेँडाको बिउ खरिद गर्न लगभग २० हजार खर्चेकी उनले ठुलो रकम भने औषधि र मलमा गरिन्। जसमा उनको १ लाख खर्च भयो। कामदारलाई ५० हजार जति ज्याला तिरेको उनको भनाई छ।  ४ रोपनी जमिनको वार्षिक भाडा भने १ लाख ३२ हजार तिर्नुपर्छ।  

गोलभेँडा खेतीले उनलाई उत्साह थपेको छ।  त्यसैले अब अझै बढी अन्य तरकारी लगाउने तरखरमा छिन्, दुर्गा। अहिले अन्य तरकारीमा काउली, बन्दा, तिते करेला, आलु ,काँक्रा, घिरौँला उनको बारीमा छन् । तर, खेती गर्दाका समस्याहरूको सुची समेत लामै छ उनीसँग। प्रबिधीक खेतीको ज्ञान नभएको, बजारको उचित व्यवस्था र मूल्यमा समस्या रहेको, लगानीको स्रोत नभएको र सरकारी निकायले बेवास्ता गरेको जस्ता गुनासा उनले एक वर्ष नपुग्दै ओकल्न बाध्य बनेकी छिन्। 

उही प्रश्नको जवाफ खोज्न भक्तपुरको बाटेश्वरी भन्ने स्थानमा पुग्दा ७ रोपनी जग्गामा १ बर्ष देखि तरकारी खेती गर्दै आएका राजकुमार श्रेष्ठ भेटिए। रामेछाप घर भएका उनी श्रीमती कल्पना सँगै तरकारीवारिमा काम गरिरहेका थिए। खेतीमा रमाइरहनु भएको छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, 'दुख काट्न ४ वर्ष अघि विदेश गएँ तर त्यहाँ झन् महादुख पाइयो। त्यहाँ भन्दा कम नै दुख गर्दा पनि यहीँ केही हुन्छ भन्ने लागेर तरकारी रोप्दै छु। उता पार जति कष्ट छैन। खुसी नै छु।'

उनी सेक्युरिटी गार्डको काम गर्न विदेश गएका रहेछन्। तर, १२ घण्टाको एकोहोरो र कष्टकर उभ्याई उनले खप्न सकेनन्। उनले भने, 'अरूको देशमा न समयमा खान पाइने, न कतै चिनेको, न सुत्ने ठाउँ राम्रो, न तलब राम्रो , न कुनै सुविधा साह्रै गाह्रो भो अनि फर्किएँ।' 

विदेश गएर कमाउन नसकेको पैसा, श्रीमती र छोरालाई दिन नसकेको खुसी नेपाल आएर तरकारी खेती गरेपछि दिन सकेको बताए। अरू पेसा भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने रहेछ भन्ने उनको ठम्याई छ। कम लगानीमा धेरै आम्दानी हुने पेसा भन्छन् राजकुमार तरकारी खेतीलाई। कामदार नलगाई आफ्नै परिवारले काम भ्याएको बताउने उनको बारीमा अहिले बन्दा, साग, लसुन मात्र रहेछ । 

प्रतिक्रिया दिनुहोस