
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ फागुन २८ गतेसम्म ७ लाख ८२ हजार २२९ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार फागुन २८ गते साझ ५ बजेसम्म यी आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय , वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानीकोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन ३० गतेसम्म मात्र विक्रीमा रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।
७४ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ३३ करोड २७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख कायम हुनेछ । संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणतर्फ स्थानीयमा १० प्रतिशत, कर्मचारीमा ५ प्रतिशत र वैदेशिक रोजगारीमा रहेको नेपाली कामदार तथा सामूहिक लगानीकोष सहित सर्वसाधारणमा १५ प्रतिशत शेयर कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस