aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मलमा अनुदान कटौती र मूल्यवृद्धिबारे राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
मलमा अनुदान कटौती र मूल्यवृद्धिबारे राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विरोध

काठमाडौं । नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्‍याउने रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिप्रति राष्ट्रवादी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध जनाएको छ । 

संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली कृषकहरूको अत्यावश्यक जरुरी रासायनिक मल, बीउ, किटनाशक औषधी, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ केन्द्रीय विषय हुन । किसानको सधैँको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरूलाई प्रत्यक्ष मार पार्ने गरी मूल्यवृद्धि गरिनुलाई ‘किसानमारा’ नीतिको रूपमा लिन सकिन्छ । यसबाट सत्तासीनवर्गले किसानलाई हेर्ने दृष्टिकोण उदाङ्गो भएको छ । आफूलाई परिवर्तनकारी तथा अग्रगमनका हिमायती भन्ने सत्तासीनहरूले आफ्नो सेवा सुविधालाई बढाउँदै लाने, ऋण लिएरै वा ब्याज तिरेरै भएता पनि तलब भत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्न कार्य अत्यन्त निन्दनीय छ र यो कुकृत्यप्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ ।’

कृषि क्षेत्रलाई कमजोर सिद्ध गरी आयातलाई थप प्रवर्द्धन गर्ने निहित स्वार्थ प्रेरित किसानमारा कार्यको भएको समेत संगठनले जनाएको छ । किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनु पर्ने समयमा यस क्षेत्रप्रतिको राज्यको असंवेदनशील, गैर न्यायिक तथा हेपाहा व्यवहार गरेको संगठनको ठहर छ । 

सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन समेत संगठनले माग गरेको छ । ‘नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष कृषि पेसामा लागेका छन् भनिरहँदा हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछ । यदि यहाँका सत्तासीनवर्गले ७० प्रतिशत जनतालाई दावानलमा पुर्‍याउने र यसको कठिनाइ र समस्याहरू उपर नजरअन्दाज गरिरहने हो भने हामी ती वर्गका विरुद्ध कठोरभन्दा कठोर सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा अवगत गराउँदछौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस