
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि एकै दिन विशेष साधारण सभा आव्हान गरेका छन् । चैत ५ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका यी कम्पनीले विशेष साधारण सभामार्फत मर्जर प्रस्तावलाई पारित गर्न लागेका हुन ।
दुबै कम्पनीले चैत २२ गते विशेष साधारण सभा गर्न लागेका हुन । आइएमई जनरल इन्स्योरेन्सले लैनचौर बैंक्वेट, लैनचौर , काठमाडौंमा विहान ११ बजे र प्रुडेन्सियल इन्स्योरेन्सले होटेल इच्छा, सिमरा, बारामा विहान ११ बजे सभा बोलाएका हुन ।
दुबै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार गर्ने प्रस्तावलाई पारित गर्नेछन् । मर्जरका लागि गरिएको सम्झौता तथा मूल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदन समेतका आधारमा निर्धारण भएको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।
मर्जर प्रक्रिया पुरा गर्नका लागि आगामी दिनमा नियामक निकायहरूबाट प्राप्त निर्देशनका आधारमा काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत सभाले दिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि आइएमई जनरल इन्स्योरेन्सले चैत १३ गते र प्रुडेन्सिय इन्स्योरेन्सले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएका छन् ।
यी दुई कम्पनीले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनस पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस