
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल, काठमाडौमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ५६ हजार ३४१ जनाको आवेदन परेको थियो । यी आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८८० कित्ता शेयर माग भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कुल आवेदकमध्ये रितपूर्वक नभएकाले ९ हजार ९९९ जनाको आवेदन रद्द भएको छ । योग्य १३ लाख ४८ हजार ३४२ जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको हो । योग्य आवेदकहरूमध्ये पनि भाग्यमानी ४ लाख २४ हजार ८९३ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर प्राप्त गरेको विक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्काशनमार्फत विक्री गरेको थियो । योग्य आवेदकमध्ये पहिलो चरणमा ४ लाख २४ हजार ८९३ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरि बाँकी रहेको ८ कित्ता शेयर योग्य आवेदकमध्येकै ८ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका हुन ।
कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि आयोजना प्रभावित स्थानीय , वैदेशिक रोजगारीमा रहेका नेपाली , सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानीकोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनाबाट २०८० साल भदौ २६ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस