
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले भने आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरूले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा सर्वसाधारणमा निष्काशन हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अधिकतममा १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस