aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लघुबीमाबाट मात्रै कम्पनीहरूले संकलन गरे डेढ अर्ब भन्दा बढी शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
लघुबीमाबाट मात्रै कम्पनीहरूले संकलन गरे डेढ अर्ब भन्दा बढी शुल्क

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले लघुबीमा व्यवसायबाट एक अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ती कम्पनीहरूले लघुबीमाबाट १ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरूले ४१ लाख ५ हजार ७५ बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क गत माघ महिनाको तुलनामा १४.३५ प्रतिशतले बढी हो । जबकि माघ मसान्तसम्म कम्पनीहरूले लघु बीमाबाट एक अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

प्राधिकरणले गत भदौ महिनामा जीवन र निर्जीवन गरी सात वटा कम्पनीहरूलाई लघुबीमा कम्पनीको लाइसेन्स खुला गरेको थियो। न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बीमाको विकास तथा विस्तार गर्न भन्दै प्राधिकरणले लाइसेन्स खुला गरेको जनाएको थियो ।

आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्दै प्राधिकरणले नयाँ लाइसेन्स खुला गरेको थियो । प्राधिकरणले लघुबीमाको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ।

प्राधिकरणले जारी गरेको सूचना अनुरुप लघुबीमा कम्पनीको लाइसेन्स अनुमतिको माग गर्दै ३१ कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकाहरूमध्ये प्राधिकरणले गत मङ्सिर ११ गते जीवन बीमातर्फ तीन र निर्जीवन बीमातर्फ चार लघुबीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरेको थियो ।

कुन कम्पनीले कति कमाए  ?

हाल सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरू मध्ये १४ कम्पनीहरूले लघुबीमा व्यवसाय गरेका छन् । जसमा नेशनल लाइफ इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले फागुन मसान्तसम्म लघुबीमा व्यवसायबाट ५४ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफले ४३ लाख ५८ हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरेसनले ३५ लाख ९९ हजार रुपैयाँ, मेट लाइफले १४ करोड ४५ लाख रुपैयाँ, एसियन लाइफले एक करोड ६२ लाख रुपैयाँ, गुराँस लाइफले सबैभन्दा कम ४३ हजार रुपैयाँ र सन नेपाल लाइफले ३ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै, रिलायन्स लाइफले २१ करोड २४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८४ लाख २ हजार रुपैयाँ, सिटिजन लाइफले ३७ करोड ८५ लाख रुपैयाँ, सानिमा लाइफले ८ लाख ३६ हजार रुपैयाँ र प्रभु लाइफले ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, चालु आवको फागुन मसान्तसम्म लघु बीमा व्यवसायबाट महालक्ष्मी लाइफले १० करोड ७ लाख ९४ हजार रुपैयाँ र सूर्यज्योति लाइफले लघुबीमाबाट १३ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। 

कम्पनीहरूको फागुन महिनासम्मको बीमा व्यवसाय

फागुन मसान्तसम्म बीमा जीवन बीमा कम्पनीहरूले ९३ अर्ब रुपैयाँ भन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरूले एक करोड ४० लाख १ हजार ५७६ बीमा लेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क गत माघ मसान्तसम्मको तुलनामा १२.४२ प्रतिशतले बढी हो ।

वैदेशिक रोजगार बीमा व्यवसाय १३.३६ प्रतिशतले बढ्यो

फागुन मसान्तसम्म वैदेशिक रोजगार बीमा व्यवसाय पनि १३.३६ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म वैदेशिक रोजगार बीमा व्यवसाय सञ्चालन गरेको ११ कम्पनीहरूले २ अर्ब २३ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत माघ मसान्तसम्म कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसायबाट १३ लाख ६० हजार बीमालेख जारी गरी एक अर्ब ९६ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

यस अवधिमा वैदेशिक रोजगार बीमा व्यवसायबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले यस अवधिमा ७ लाख ७०३ बीमालेख बिक्री गरी ८३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, प्राधिकरणका अनुसार फागुन मसान्तसम्म वैदेशिक रोजगारी बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्सले २० करोड ४२ लाख रुपैयाँ, आईएमई लाइफले २९ करोड १५ लाख, रिलायन्सले ३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। 

त्यस्तै, रिलायबल नेपाल लाइफले १० करोड ४४ लाख रुपैयाँ, सिटिजन लाइफले १४ करोड ९१ लाख रुपैयाँ, सानिमा लाइफले १५ करोड २४ लाख रुपैयाँ, प्रभु लाइफले एक करोड ७७ लाख रुपैयाँ र सूर्यज्योति लाइफले ३४ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस