aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बीमाका लागि बढ्दैछन् व्यक्ति हत्या, दोषी को ?

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, १६ चैत्र २०७९
बीमाका लागि बढ्दैछन् व्यक्ति हत्या, दोषी को ?

काठमाडौं । हेटौँडाकी २४ वर्षीय सुस्मिता केसीको वि‍.स २०७७ असार १ गते हत्या भयो । हत्या भएको करिब साढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न उनका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीतालाई जन्मकैदको फैसला सुनायो ।

उनको विवाह  २०७६ वैशाख १८ गते हेटौँडाका रुपेन्द्र थापासँग भएको थियो । सुस्मिताको पति रुपेन्द्रको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । रुपेन्द्रको दुर्घटनामा मृत्यु भएपछि उनको नाममा रहेको बिमा रकम श्रीमती सुस्मिताको हुने निश्चित थियो । सो हात पार्नका लागि परिवारले सुस्मिताको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुल्यो ।

यस्तै अर्को घटनामा संलग्न रहेको आरोपमा वैदेशिक अध्ययनका लागि जापान जान लागेकी कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीय सपना मल्ललाई गत साउन १३ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो । 

बीमाको रकम हत्याउन नक्कली विवाह गरी युवकको हत्या गरेको आरोपमा सपना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा थिए ।

प्रहरीले उनीहरुलाई बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको योजनाबद्ध रूपमा हत्या गरेको आरोप लगाएको छ । उनीहरूले विकलाई डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै मल्लसँग २०७७ फागुन ११ गते नक्कली बिहे गराएका थिए ।

विवाह पश्चात् विकको रिलायन्स लाइफ इन्स्योरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए । २०७८ बैशाख २ गते विकको बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा मार्फत हत्या गरी सो रकम हात पार्ने उनीहरुको योजना थियो ।

बीमा कै रकमका लागि रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका वर्षीय राम किशोर यादवले २०७६ असार १७ गते ४ वर्षीय छोरी लक्ष्मीकुमारी यादवको हत्या गरे । आमासँग सुतेकै अवस्थामा राती १ बजे उनले छोरीलाई घाँटी थिचेर हत्या गरी पोखरीमा फ्याँकिदिएका थिए ।

यादवले बिमाबापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीय छोरीको हत्या गरेका थिए । उनले जिल्लाकै गरुडाको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २ं०७६ जेठ १९ गते छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए । बीमाको रकम निकाल्ने योजनाअनुरूप नै यादवले छोरीको बिमा गराएको र बिमाको २९ औँ दिनमा छोरीको हत्या गरेका थिए।

अर्को एक घटनामा वि।स २०७६ असारमा पोखराको कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल पुम्दीभुम्दीको जंगलमा भेटियो । श्रीमती हराएको भन्दै उनका श्रीमान् रमेश नेपाली प्रहरी कार्यालय पुगेका थिए । तर, रमेशले नै लक्ष्मीको योजनाबद्ध रूपमा हत्या गरेको खुल्यो ।

उनले श्रीमतीको नाममा युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बीमा गरेका थिए । बीमाको सोही रकम हात पार्नका लागि उनले कन्ट्याक्ट किलरमार्फत श्रीमतीको हत्या गराए । उनले लक्ष्मीको हत्या गर्नु चार महिना अघि मात्रै जीवन बीमा गराएका थिए ।

पुरुषले मात्र होइन महिलाहरूले पनि यस्तो कर्म गरेको अर्को घटना हो, सप्तरीको कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले गरेको हत्या । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले कोशिलादेवीलाई पक्राउ गर्यो । पछि बीमाको रकम हत्याउन कै लागि उनले आफ्नै श्रीमानको हत्या गरेको  अनुसन्धानका क्रममा खुल्यो ।

श्रीमान् शिवशंकर दासको नाममा रहेको बीमा पाउने लोभमा कोपिलादेवीले करेन्ट लगाएर हत्या गरेकी थिइन् । गत कात्तिक ६ गते भएको उक्त घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता देखिएको प्रहरीको भनाइ रहेको छ । उनीहरूले मदिरा खुवाएर नशाले लट्ठ भई सुतेका उनलाई बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको प्रहरी समक्ष स्विकारेका छन् । 

१४ वर्ष अघि अर्को एक घटनामा गोविन्द आचार्यले श्रीमतीको बीमा गरेपछि हत्या गरेको खुलेको छ । आचार्यले विवाह गरेको केही दिनमै श्रीमतीको नाममा २५ लाख रुपैयाँको बीमा गरे । आचार्यले दुई पटक प्रिमियम भुक्तानी गरेपछि श्रीमतीको हत्या गरी बीमा रकम दाबी गर्न गएका थिए ।

यसरी उनले बीमा कम्पनीमा रकम दाबी गरेपछि मृतकको माइती पक्षले मृत्यु स्वभाविक नभएको शंका गरे । प्रहरीमा सो सम्बन्धी उजुरी परेपछि बीमा कम्पनीले दावी भुक्तानी गरेन । पछि प्रहरीको अनुसन्धानबाट श्रीमानले एक वर्षदेखि नियमित रूपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको त्यसबाट नै श्रीमतीको हत्या भएको पत्ता लागेपछि आचार्य पक्राउ परे । 

दोष कसको ?

उल्लेखित सबै घटनाहरूमा हत्याको एउटै कारण थियो, बीमाको रकम हत्याउने योजना । घटनामा संलग्नहरू स्वाभाविक रूपमा अपराधी थिए । सो कुराको कानुनी रूपमा पुष्टि समेत भएको छ । तर, अर्को एक पक्ष पनि यस सन्दर्भमा दोषी छ । त्यी हुन् बीमा अभिकर्ताहरु । 

बीमा अभिकर्ताहरुको नैतिक र व्यवसायिक जिम्मेवारी के हो भने उनीहरूले बीमक पोलिसी खरिदकर्ताहरुको प्रिमियम तिर्ने आर्थिक हैसियत छ वा छैन भन्ने हेर्नुपर्छ । तर, प्रस्तुत कति पनि घटनामा अभिकर्ताहरुले त्यस्तो सजकता र विश्लेषण गरेको  देखिएन । 

यदि त्यस्तो हुन्थ्यो भने सपना जस्ता भर्खर टीन एज पार गर्दै गरेकाहरू अपराधी बन्ने थिएनन् । उनीहरुको अपराधको योजना साकार बन्दैन थियो । त्यसैले बीमा अभिकर्ताहरुलाई यसबारे थप ज्ञान दिने र जिम्मेवार बनाउने कुरामा बीमा कम्पनीहरू लाग्ने हो भने बीमाका लागि हत्याको शृङ्खला रोकिने थियो । 

बीमा कम्पनीलाई पनि घाटा

अभिकर्ताहरुमा पोलिसी बिक्री गर्ने सन्दर्भमा देखिएको लापरबाहीले वित्तीय रूपमा बीमा कम्पनीहरूलाई प्रत्यक्ष नोक्सान समेत हुने गरेको छ । उनीहरूले कमिसनको लोभमा परेर बीमितको प्रिमियम तिर्न सक्ने क्षमता भन्दा बढीको बीमालेख बिक्री गर्दा सुरुवाती केही किस्ता प्रिमियम तिरेर पोलिसी सरेन्डर गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

यसरी बीमितको क्षमता नै नहेरी बीमा गर्नु पनि एक प्रकारको अपराध नै हो । त्यसले एकैचोटी बीमित र बीमा कम्पनी दुवैलाई घाटा पुर्याउँछ । अभिकर्ताले आफ्नो कामको कमिसन पाउँछ । लाभ हुने उसलाई मात्रै हो ।

अनपेक्षित रूपमा सरेन्डरको संख्या बढ्दा बीमा कम्पनीहरूको समग्र वित्तीय योजना नै खलबलिन्छ । त्यसले बीमा बजारलाई दीर्घकालीन रूपमा असर पार्छ । यसको न्युनीकणका लागि समेत अभिकर्ताहरुलाई जिम्मेवार बनाउन जरुरी छ । 
 

प्रतिक्रिया दिनुहोस