
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा ६ लाख ७८ हजार ६०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । स्थानीयमा कम्पनीले ७ लाख ६० हजार कित्ता शेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता शेयरसमेत सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीले जारी पूँजी रू. ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता शेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता शेयरमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओको विक्री अवधि छिटोमा चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा आगामी वैशाख ३ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएकाले चैत २२ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्री खुला हुने निश्चित छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ् प्रदान गर्ने गर्दछ ।
जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजनाबाट २०७९ वैशाख १८ गतेबाट व्यापारिक उत्पादन सुरु भएको हो भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला आयोजनाबाट आगामी चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
६ दशमलव ४ मेगावाट क्षमताको सुरीखोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रूपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २१ करोड ३ लाख ३१ हजार रूपैयाँ छ । ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब २९ करोड ५० लाख रूपैयाँ र प्रति मेगावाट लागत १८ करोड ५० लाख रूपैयाँ हुने अनुमान गरिएको छ ।
अधिकृत पूँजी ७६ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी समेत ७६ करोड रूपैयाँनै रहेको छ । कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५३ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७६ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीमा हाल संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम छ भने आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएका नेपाली कामदार, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
दुई ओटा आयोजनामध्ये एक आयोजना आयोजना निर्माणाधीन अवस्थामै रहेको यो कम्पनी आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र सञ्चित नोक्सानी घटाएर ३ करोड ५८ लाख रूपैयाँमा झार्ने प्रक्षेपण गरेको कम्पनीले आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने ७ करोड ८४ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रूपैयाँ ७१ पैसा रहेको छ । चालू आर्थिक वर्षभित्र प्रतिशेयर नेटवर्थ ९५ रूपैयाँ २८ पैसा पु¥याउने प्रक्षेपण समेत कम्पनीको छ ।
धितोपत्र प्राथमिक बजारमा विक्री भएको कम्पनीको आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओले दोस्रो बजारमा न्यूनतम प्रतिकित्ता ९२ रूपैयाँ ७१ पैसादेखि अधिकतम प्रतिकित्ता २७८ रूपैयाँ १३ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस