aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेन्छियाम हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
मेन्छियाम हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५४ करोड २५ लाख ८३ हजारको १० प्रतिशत दरको ५ लाख ४२ हजार ५८३ कित्ता आइपीओ विक्री गरेको थियो । 

कुल कित्ता आईपीओमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजना प्रभावित क्षेत्र साविक सिद्धकाली, सिद्धपोखरी र मानादीन गाविस बाहेक संखुवासभा जिल्लाका वासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता शेयर बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा कम्पनीले फागुन १० गतेदेखि चैत ९ गतेसम्म आईपीओ विक्री गरी चैत २० गते बाँडफाँट गरेको हो ।

अब कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँट गरेको हो । अब बाँकी शेयर कर्मचारी तथा सामूहिक लगानीकोष समेत सर्वसाधारणमा जारी हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।


 

प्रतिक्रिया दिनुहोस