aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बिक्रीमा

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीको भनाई छ । कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओ विक्री अवधि छिटोमा चैत २७ गतेसम्मका लागि तोकिएको छ । सो मितिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि वैशाख ७ गतेसम्म विक्री लम्बिनेछ । 

पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओसमेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ । इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दैलेख जिल्लाको नौमुलेमा रहेको छ । २०७१ साल जेठ २६ गते कम्पनीले विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । कम्पनीले प्राप्त गरेको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि अब २५ वर्ष बाँकी रहेको छ ।

यस कम्पनीको अधिकृत पूँजी ६० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रूपैयाँ छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ३८ करोड ८ लाख ३७ हजार ४०० रूपैयाँ कायम छ । सर्वसाधारणमा जारी हुने सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रूपैयाँ कायम हुुनेछ । संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १२ करोड ३२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रूपैयाँ ६३ पैसा छ । 

प्रतिक्रिया दिनुहोस