
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रोच चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवभित्र मात्र आवेदन संकलन गर्ने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ । इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दैलेख जिल्लाको नौमुलेमा रहेको छ । २०७१ साल जेठ २६ गते कम्पनीले विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । कम्पनीले प्राप्त गरेको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि अब २५ वर्ष बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस