
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरी आयोगमा स्वीकृतिका लागि पेश गरेको थियो । तर, विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि मात्र चैत २६ गते अनुमति प्रदान गरेको हो ।
जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपूर्व विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । आयोगको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बोर्डसमक्ष निवेदन पेश गर्नेछ ।
हाल यस कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ । बोर्डले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्तापूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ । जलविद्युत कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था विद्युत नियमन आयोगले गरेको छ ।
सोही व्यवस्था बमोजिम यस कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनी रू. ५ करोड ३५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
कम्पनीले निर्माण गरेको १२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती दुई जलविद्युत आयोजनाबाट २०७९ साल असोज ३० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ । नयाँ जलविद्युत आयोजनाहरू निर्माणका लागि समेत कम्पनी पूर्व तयारीमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस