aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दोल्ती पावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
दोल्ती पावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागिएको हो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरी बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ विक्री बन्द छिटोमा आगामी वैशाख ३ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि आगामी वैशाख १२ गतेसम्म विक्री लम्बिनेछ । तर, सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको छ । यस आधारमा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ । इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ । 

कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो । ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस