aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भिजन सेक्यूरिटिजद्वारा ललितपुरमा शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
भिजन सेक्यूरिटिजद्वारा ललितपुरमा शाखा विस्तार

काठमाडौं । उपत्यकाभित्र पहिलो पटक धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को शाखा कार्यालय स्थापना भएको छ । ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज् प्रालिले पहिलो पटक उपत्यकामा शाखा विस्तार गरेको हो ।

भिजन सेक्यूरिटिजले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई मंगलवार ललितपुर महानगरपालिका वार्ड नं. २०, कुमारीपाटीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाकी उप मेयर मञ्जली शाक्य वज्राचार्यले उक्त ब्रोकर शाखाको उद्घाटन गरेकी हुन्  ।

आर्थिक मन्दी, तरलताको अभाव लगाएतका कारणबाट पछिल्लो समय धितोपत्र बजारमा समेत असर परेकाले यो अवस्थामा कम्पनीहरुको वित्तिय विवरण राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्न उपमेयर शाक्य वज्राचार्यले आग्रह गरेकी छिन् ।

शाखा उद्घाटन कार्यक्रममा सिडीएस एक क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले शेयर बजारमा उतार चढाब भैरहने हुनाले अहिलेको अवस्थामा केहि समय आफ्नो लगानी सुरक्षित राख्न सके यसबाट राम्रो प्रतिफल पाउने सक्ने बताएका छन् ।

लगानीकर्ताहरुको धितोपत्र कारोबार सम्बन्धि तथ्याङ्क सुरक्षित गर्न सिडिएससीले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टर राखिएको जानकारी दिए ।

धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गत फाल्गुण ४ गते देखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको थियो ।

भिजन सेक्यूरिटिजको उपत्यका बाहिर सबै भन्दा धेरै ९ ओटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । धितोपत्र कारोबारका लागि लगानीकर्तालाई सहज सेवा प्रदान गर्नका लागि उपत्यका भित्रै शाखा सञ्चालनमा ल्याएको कम्पनीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस