aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माई खोला हाइड्रोपावरको आईपीओ बैशाख ८ गतेदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
माई खोला हाइड्रोपावरको आईपीओ बैशाख ८ गतेदेखि बिक्रीमा

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीम आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीको जारी पूँजी रू. ३९ करोड २१ लाख ५८ हजार ८ सयको ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको हो भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।

अब सर्वसाधारणका लागि बाँकी रहेको शेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता शेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता शेयर भने सर्वाजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ विक्री अवधि छिटोमा वैशाख १२ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख १४ गतेसम्म विक्री खुला हुने जानकारी कम्पनीले दिएको छ ।

तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको यो आईपीओ समेत छिटो अवधि वैशाख १२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । प्रतिकित्ता रू. १०० तोकिएको यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०  हजार कित्तासम्म माग गर्न सकिनेछ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले समयमै वित्तीय दायित्व पुरा गर्न मध्यम सुनिश्चित रहेको संकेत गर्दछ । 

यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।

पुस मसान्तसम्म कम्पनीले रू. १ करोड २० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७८/७९ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ६७ रहेको छ । यहि नेटवर्थको आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।
 

प्रतिक्रिया दिनुहोस