aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

धितोपत्र बजारकाे नयाँ कानून बन्दै, गलत तवरले कारोवार गरे ४ लाख ५० हजारसम्म जरिवान

  • रासस
    रासस
  • शुक्रबार, २७ भदौ २०७६
धितोपत्र बजारकाे नयाँ कानून बन्दै, गलत तवरले कारोवार गरे  ४ लाख ५० हजारसम्म जरिवान

काठमाडौं । केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा २० करोड रुपैयाँ बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।

सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन अनुमतिपत्रका लागि निवेदन दिनुपर्नेसम्बन्धी व्यवस्थामा निक्षेप प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ यो व्यवस्था गरिएको हो ।

यस्तै केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा सुविधा पर्याप्त रहेको र धितोपत्र बजारमा भएका कारोवारको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोवारको विवरण प्रकाशन गर्न उपयुक्त व्यवस्था गरिएको छ ।

केन्द्रीय निक्षेप सेवा भन्नाले सङ्गठित संस्थाको धितोपत्र अभौतिकीकरण गरी त्यस्तो धितोपत्रको विद्युतीय माध्यमबाट अभिलेख राख्ने कार्य सम्झनुपर्ने विधेयकमा व्यवस्था छ ।

यस्तै विधेयकमा गलत तवरले धितोपत्रको कारोवार गरेको पाइएमा समेत कडा कानूनी प्रबन्ध गरिएको छ । विधेयकमा बिगो खुलेकामा बिगो भराई बिगो नखुलेकामा बिगो भराई जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

बिगो खुलेकामा बिगो भराई बिगोबमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकामा एक लाख ५० हजार रुपैयाँदेखि चार लाख ५० हजार रुपैयाँसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यस्तै बोर्डले दिएको निर्देशन पालना नगर्ने सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले सचेत गराउने वा लिखित चेतावनी दिने, त्यस्ता संस्थालाई कारोवारमा आंशिक वा पूर्णरुपमा प्रतिबन्ध लगाउने, बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने व्यवस्था गरिएको छ ।

यस्तै बोर्डबाट खटिएका कुनै अधिकारीले माग गरेको कागजात, विवरण, तथ्याङ्क वा अभिलेख तोकिएको अवधिभित्र उपलब्ध नगराउने संस्थालाई म्याद नाघेको सात दिनसम्म लागि दैनिक १० हजार रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यस्तै म्याद नाघेको आठ दिनदेखि १५ दिनसम्मका लागि दैनिक २५ हजारको दरले र म्याद नाघेको १६ दिनदेखि दैनिक ५० हजारको दरले जरिवाना लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस