aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूगोल इनर्जिको आईपीओ बाँडफाँट, ३ जना आवेदकले ११ कित्तासम्म पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
भूगोल इनर्जिको आईपीओ बाँडफाँट, ३ जना आवेदकले ११ कित्तासम्म पाए

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ आइतवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोला प्रथाको माध्यमबाट बाँडफाँट भएको हो ।   

हालको बाँडफाँट नीति अनुसार उक्त शेयर १ लाख ३४ हजार ६९९ जना योग्य आवेदकले शेयर प्राप्त गरेका छन् । यी आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट गरेको कम्पनीले बाँकी रहेको तीन कित्ता शेयर यी मध्येकै तीन जना आवेदकले थप एक कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ पाउने आवेदकमध्ये तीन जना आवेदकले ११ कित्तासम्म शेयर पाएका हुन ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ ओटा आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ११ लाख ४९ हजार १५१ ओटा आवेदक रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ । कम्पनीले सर्वसाधारणका लागि चैत्र २३ गतेदेखि २७ गतेसम्म आईपिओ सार्वजनिक निष्कासन गरेको थियो ।

कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिसकेको छ । कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । 

कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दैलेख जिल्लाको नौमुलेमा रहेको छ । २०७१ साल जेठ २६ गते कम्पनीले विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । कम्पनीले प्राप्त गरेको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि अब २५ वर्ष बाँकी रहेको छ ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १२ करोड ३२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रूपैयाँ ६३ पैसा छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ६७ रूपैयाँ ६३ पैसा देखि अधिकतम प्रतिकित्ता २०२ रूपैयाँ ८९ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस