aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सामुदायिक विद्यालयले फोहोरबाट मल बनाउन थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
सामुदायिक विद्यालयले फोहोरबाट मल बनाउन थाले

काठमाडौं । स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट उत्पादन भएको जैविक फोहोर व्यवस्थापनका लागि आजदेखि कम्पोष्टिङ् सुरु गरिएको छ । फोहोरलाई स्रोतमा बर्गीकरण गर्ने र जैविक फोहोरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्धन गर्दै काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक कार्यक्रमबिच कम्पोष्टिङ् सुरु गरेको हो । 

विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । यसपछि विद्यार्थीहरुले खाना तथा खाजा खाँदा उत्पादन भएको फोहोर व्यवस्थापन गर्न बाहिर निकालिने छैन । 

कार्यक्रम सुरु गर्दै महानगरका प्रवक्ता नविन मानन्धरले सहरलाई प्रदुषणबाट मुक्त गराउन सबैको भूमिका रहने उल्लेख गरे । ‘सहरमा आवाजबाट हुने, पानीमा हुने, माटोमा हुने, हावामा हुने सबै खालका प्रदुषणको समस्या छ । यी सबै खालका समस्या समाधान गर्न समाजमा बस्ने हरेक व्यक्तिले समान जिम्मेवारी पूरा गर्नुपर्छ । नेतृत्व गर्ने, आपसी समन्वय गर्ने, आवश्यकताका आधारमा स्रोत र प्रविधि उपलब्ध गराउने काम महानगरपालिकाले गर्छ’ प्रवक्ता मानन्धरले भने ।  

काठमाडौँ महानगरपालिकाको जिम्मेवारीसँग जोडिएको घरेलु फोहोरको दिगो व्यवस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मूख्य काम हो । वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले भने, ‘जैविक फोहोरलाई घरमै व्यवस्थापन गर्नमा जनताबाट सहयोग भए महानगरपालिकाको ठूलो खर्च जोगिन्छ, यसबाट स्वच्छ वातावरण निर्माणमा योगदान पुग्छ ।’  

सबैका आँखा ठूला योजनामा मात्र छन् । फोहोर व्यवस्थापन गर्ने काम हेर्दा सानो तर मानव सभ्यता र वातावरणका लागि ठूलो योगदान दिने काम । यसलाई जनसाधारणले महानगरको काम भनेर पन्छाउने गरेका छन् । यसो गरेर समस्या समाधान हुँदैन । कार्यक्रममा वडा १५ का अध्यक्ष इश्वरमान डंगोलले धारणा राखे ।  

महानगरले फोहोर व्यवस्थापन गर्नु मात्र भन्दैन । आवश्यक परेको सहयोग पनि उपलब्ध गराउँछ । कार्यक्रममा शिक्षा सल्लाहकार रेशु अर्यालले सामुदायिक विद्यालयलाई वातावरणमैत्री बनाउने योजनालाई कार्यान्वयनमा लगिएको बताए ।   

शिक्षा विभागले १ हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयबाट उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोष्टिङ् राख्ने, कतै गड््यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना बनाएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले भने, ‘वातावरणीय अध्ययनका लागि सामुदायिक विद्यालयका परिसर नै अवलोकन भ्रमणका स्थल बन्न सक्छन् ।’

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालयमा राखिएको सामुदायिक कम्पोष्ट बिनले विद्यालयको फोहोर व्यवस्थापन सँगै विद्यार्थीमार्फत समुदायमा घरेलु फोहोर व्यवस्थापनमा सन्देश प्रवाह हुने धारणा राखे ।  

महानगरले परिवारका लागि १ सय लिटर क्षमताको र धेरै व्यक्तिबाट फोहोर उत्पादन हुने भए २ हजार लिटरको सामुदायिक कम्पोष्टिङ् बिनको प्रयोग प्रबर्धन गरिरहेको छ । विभागका सहायक निर्देशक सानुमैया महर्जनका अनुसार गएको माघ २४ गते वडा ४ को शंखपार्कमा २ हजार लिटरको एउटा बिन राखिएको छ । यसपछि माघकै २९ गते बालाजु उद्यान परिसरका २ ठाउँमा २÷२ हजार लिटरका २ वटा बिन राखिएका छन् ।

गएको फागुन १२ गतेदेखि बानेश्वर क्षेत्रबाट छुट्याइएको जैविक फोहोर ल्याएर बायो ग्याँस प्लान्टमा प्रयोग गर्न थालिएको छ । रत्नपार्कमा गएको ७ बर्षदेखि बिन प्रयोगमा छ । यसबाट बार्षिक ८ सय किलोग्राम मल उत्पादन भइरहेको छ ।  

   
 

प्रतिक्रिया दिनुहोस