aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै ईङवा हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै ईङवा हाइड्रोपावर

 काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँट पछि कम्पनीले दोस्रो चरणको आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ३ लाख ६ हजार ८४० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरेको छ । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशत दरको ६ लाख कित्ता शेयर विक्री खुला गरिएकोमा २ लाख ९३ हजार १६० कित्ता शेयर भने वितरण हुन सकेको थिएन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत थप गरी कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

स्थानीयमा विक्री हुन नसकेको शेयर समेत सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ । सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ७४ लाख ६५८ कित्ता शेयर सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको छ । अब २९ हजार ८६३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पैशाख २७ गतेसम्म विक्री लम्बिनेछ । तर, सर्वसाधारणमा आईपीओ जारी हुँदा पछिल्लो समय पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धन्धकसँगै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै आवेदनका लागि मेरो शेयर सफ्टवेयर र एप समेत प्रयोग गर्न सकिने व्यवस्था छ ।कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यस आयोजनाका निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट औषत लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस