
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तालाई वैशाख २८ गते स्वीकृति प्रदान गर्ने भएको छ । वैशाख ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।
साथै सञ्चालन समितिको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णलाई रद्द गरी शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णयलाई स्वीकृति दिनेछ । यस अघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव २०७८ साल पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ७७ करोड ३९ लाख ११ हजार पुग्नेछ । यस कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ५ करोड २६ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । यस अवधिसम्म कम्पनी रू. १ करोड १२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । पछिल्लो समय जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रद मार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस