aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेन्छियाम हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
मेन्छियाम हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । 

कम्पनीले सर्वसाधारणमा ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । 

जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।

बाँकी शेयरमध्ये २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी गरिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागिएको हो । 

लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ । २०७९ भित्रनै व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । 

यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।


 

प्रतिक्रिया दिनुहोस