
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ वैशाख ८ गते शुक्रवार बाँडफाँट गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म आईपीओ विक्रीग गरेको थियो ।
सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १२ लाख ७१ हजार ८६१ कित्ता शेयर विक्री गरिएको हो । कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमाबाट बाँडफाँट हुनेछ । भाग्यमानी १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । बाँकी एक कित्ता शेयर भने यी मध्येकै एक जनामा थप हुनेछ ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरिसकेको छ । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गरेको हो । कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरेको छ ।
कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो ।
४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस