
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि विक्री खुला गरेको आईपीओ अन्तिम दिनसम्म १२ लाख २८ हजार २०० जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ३५ लाख ७ हजार ९६० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा १४ दशमलव ४५ गुणा बढी आवेदन हुन आउछ ।
कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत ९ लाख ३४ हजार ९१५ कित्ता शेयर विक्री खुला गरेको हो । वैशाख ४ गतेदेखि ७ गतेसम्म कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।
बाँकी शेयरमध्ये २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी गरिएको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ९३ हजार ४९१ जनाले पाउने यो आईपीओ खरीदका लागि १२ लाखभन्दा बढीको आवेदन परेकाले ११ लाखभन्दा बढीको हात खाली हुने देखिन्छ । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट विक्री हुनेछ । ९३ हजार ४९१ जनाले १० कित्ता शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर यी मध्येका ५ जनामा थप एक एक कित्ताका दरले शेयर बाँडफाँट गरिनेछ ।
कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ । २०७९ भित्रनै व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस