
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँट पछि कम्पनीले दोस्रो चरणको आईपीओ जारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ३ लाख ६ हजार ८४० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरेको छ । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशत दरको ६ लाखकित्ता शेयर विक्रीखुला गरिएकोमा २ लाख ९३ हजार १६० कित्ता शेयर भने वितरण हुन सकेको थिएन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत थप गरी कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
स्थानीयमा विक्री हुन नसकेको शेयर समेत गरी सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको छ । अब २ प्रतिशत दरको २९ हजार ८६३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख २७ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनिछिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै आवेदनका लागि मेरो शेयर सफ्टवेयर र एपसमेत प्रयोग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबलबी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत्उत्पादन शुरू गर्ने लक्ष्य लिईएको छ ।
निर्माण अवधिको ब्याज सहित यस आयोजना निर्माण लागत प्रतिमेगावाट औसत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल अनुमानितलागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २०७७ साल मंसिर १४ गतेदेखि २११० साल असार २६ गतेसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस