aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हिमालयन उर्जा विकास कम्पनीले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
हिमालयन उर्जा विकास कम्पनीले बोलायो साधारण सभा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले जेठ ९ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्पण बैंक्विट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाईसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरी आयोगमा स्वीकृतिका लागि पेश गरेको थियो । तर, विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि मात्र चैत २६ गते अनुमति प्रदान गरेको हो ।

जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपूर्व विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । आयोगको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले साधारण सभामार्फत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेपछि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेश गर्नेछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. ९९ करोड रहेको छ ।

बोर्डले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्तापूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ । कम्पनीले निर्माण गरेको १२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती दुई जनलविद्युत आयोजनाबाट २०७९ साल असोज ३० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ । नयाँ जलविद्युत आयोजनाहरू निर्माणका लागि समेत कम्पनी पूर्व तयारीमा जुटेको छ ।
 

प्रतिक्रिया दिनुहोस