
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ वैशाख १९ गते मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले वैशाख १५ गते शुक्रवारनै सर्वसाधारणमा विक्री गरेको आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारी दिएको हो । मंगलवार अन्तिम बाँडफाँटको मिति तय भएकोपनि समय भने हालसम्म तय भैनसकेको विक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणमा १२ लाख ६९ हजार ४११ कित्ता आईपीओ जारी गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट भाग्यमानी १ लाख २६ हजार ९४१ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । यी मध्ये एक जना आवेदकले भने बाँकी रहेको एक कित्ता शेयर थप प्राप्त गर्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीम आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी रू. ३९ करोड २१ लाख ५८ हजार ८०० को ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको हो भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । कम्पनीको कर्मचारीमा ३० हजार ५८८ कित्ता र सामूहिक लगानीकोषमा ७६ हजार ४७१ कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।
यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँे छ । पुस मसान्तसम्म कम्पनीले रू. १ करोड २० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७८÷७९ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ६७ रहेको छ । यहि नेटवर्थको आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।
प्रतिक्रिया दिनुहोस