
काठमाडौं । घोराही सिमेन्टको साधारण शेयर ( आईपीओ) वैशाख १९ गते देखि विक्री खुला हुने भएको छ । घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्गलवार १९ वैशाखदेखि आवेदन दिन सकिने जनाएको छ । उनीहरूले प्रति शेयर चार सय रुपैयाँमा शेयर खरिद गर्न सक्छन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रति शेयर एक सय रुपैयाँमा तीन सय रुपैयाँ प्रिमियम थप गरि प्रति शेयर चार सय रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणको लागि प्रति शेयर एक सय रुपैयाँ दरले निष्कासनमा प्रिमियम तीन सय ३५ रुपैयाँ थप गरि प्रति शेयर चार सय ३५ रुपैयाँ अंकित मूल्य कायम गरिएको कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।
घोराही सिमेन्टले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले ७९ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७९ लाख ७३ हजार ८०१ कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।
कम्पनीले जारी पुँजीको १ प्रतिशतले हुने ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले तीन लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयरमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९ तथा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतै प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा एक लाख कित्तासम्मका लाग आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले २ जेठसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि १७ जेठसम्म थप हुनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने २ जेठभित्र आवेदन दिनु पर्नेछ ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैकमार्फत आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदनको लागि दरखास्त फारमबाट बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक, वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख गरेको छ ।
नेपालको स्थापित व्यापारिक घराना त्रिवेणी समूहले प्रवर्द्धन गरेको घोराही सिमेन्ट २०६४ साउन २१ गते स्थापना भएको कम्पनी हो । क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगबाट उत्पादित सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट २०७९ असार २३ गते सगरमाथा ओपीसी ५३ ग्रेड नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
त्यसैगरी, २०७८ श्रावण ५ गते सगरमाथा गोल्ड पीपीसी र सगरमाथा ओपीसीमा नेपाल गुणस्तर चिन्ह प्रयोग इजाजत समेत प्राप्त गरेको छ । यो कम्पनीले नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट समेत नियम बमोजिम अनुमति लिई देशका विभिन्न स्थानहरूमा अनुसन्धानात्मक कार्यहरू नियमित रुपमा गर्ने गरेको छ ।
आफ्नो उत्पादनको गुणस्तर र स्थानीय पर्यावरण प्रति सचेत रहँदै यो कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा सिमेन्ट तथा क्लिङ्करको उत्पादनमा प्रयोग भई रहेको प्रविधिको प्रयोग गरेको बताएको छ । त्यसैगरी उद्योगले पार्न सक्ने सकारात्मक तथा नकारात्मक पक्षहरूको अध्ययन र विश्लेषण समेत नियमित रुपमा गर्ने गरेको कम्पनीको दाबी रहेको छ ।
उद्योग विभागबाट विभिन्न मितिमा, पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम घोराही, सगरमाथा, सगरमाथा गोल्ड, नामक ट्रेडमार्क प्रयोग अनुमति सम्झौताको स्वीकृतै लिएको कम्पनीले जनाएको छ ।
यो कम्पनीले पश्चिम नेपालको घोराही उपमहानगरपालिकामा सिमेन्ट उद्योग संचालन गरिरहेको छ । कम्पनीको मुख्य उद्योगको वार्षिक क्लिंकर उत्पादन क्षमता तीन लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ । वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ ।
प्रतिक्रिया दिनुहोस