aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोदी ईनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
मोदी ईनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको  २० लाख ९५ हजार ६१० कित्ता शेयर समेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । दोस्रो चरणका विक्री गरिने १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता शेयरमध्ये ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।

अब बाँकी रहेको शेयरमध्ये पनि ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणमा ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासन बन्द छिटोमा बैशाख २४ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ । 

कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन त्रिपल ए इस्यूअरदेखि आईआरएन डी सम्मको रेटिङ्ग प्रदान गर्ने गर्दछ । आईआरएन त्रिपल ए इन्स्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने आईआरएन डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीले पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको हो । यस आयोजनको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ भने आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस