aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करिब ७९ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करिब ७९ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।

कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा चैत २७ गते निवेदन दिएको छ । आईपीओपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणले कायम गरेको चुक्तापूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्तापूँजी आवश्यक हुनेछ ।

तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस