
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ११ अर्ब रुपैयाँ बराबरको बीमाशुलक संकलन गरेको छन् । बीमा कम्पनीहरुले यस अवधिमा ८ लाख ८० हजार १७९ बीमालेख बिक्री गरी ११ अर्ब ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कम्पनीहरुले एक खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यसअवधिमा कम्पनीहरुले एक करोड ४१ लाख ६५ हजार ९९८ बीमालेख जारी गरेका छन् ।
उक्त बीमाशुल्क गत फागुन मसान्तसम्मको तुलनामा ११.७४ प्रतिशतले बढि हो । जीवन बीमा कम्पनीहरुले गत फागुन मसान्तसम्ममा ९३ अर्ब ७२ करोड ५२ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेका थिए । सो अवधिमा बीमा कम्पनीहरुले एक करोड ४० लाख एक हजार ५७६ बीमालेख जारी गरेका थिए ।
कुन कम्पनीले कति संकलन गरे बीमाशुल्क ?
बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत चैत मसान्तसम्म सबैभन्दा बढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा १० लाख १० हजार ८३५ वटा बीमालेख बिक्री गरी २७ अर्ब २६ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड २२ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ११ अर्ब ३७ करोड ४२ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ९४ करोड ५० लाख, मेट लाइफ इन्स्यारेन्सले तीन अर्ब ८७ करोड ६५ लाख र एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, चैत मसान्तसम्म गुँरास लाईफ इन्स्यारेन्सले दुई अर्ब २४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्राइम लाइफ इन्स्यारेन्सले एक लाख ७१ हजार ४२४ वटा बीमालेख जारी गरेर तीन अर्ब ३४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क कमाएको छ ।
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई अर्ब ९८ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन दुई लाख ८० हजार १२७ वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यसैगरी, यस अवधिमा युनियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७५ करोड ६४ लाख र सन नेपाल लाइफ इन्स्यारेन्सले दुई अर्ब ८७ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
प्राधिकरणको तथ्यांकमा उल्लेख भए अनुसार रिलायन्स लाइफ इन्स्योरेन्सले दुई अर्ब १२ करोड ७ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा सानिमा लाइफ इन्स्योरेन्सले एक अर्ब ७० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार गरिसकेका छन् ।
बीमा प्राधिकरणका अनुसार सानिमा रिलायन्स लाइफ बनेपनि कम्पनीले २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी यस अवधिमा रिलायबल नेपाल लाइफले दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्यारेन्सले चार अर्ब एक करोड ७९ लाख बीमाशुल्क उठाएको छ ।
त्यस्तै, चालु आवको चैत मसान्तसम्म प्रभु लाइफ इन्स्योरेन्सले एक अर्ब ५५ करोड ६५ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब २० करोड ६९ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक अर्ब १८ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस