aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रावा इनर्जिको आईपीओ स्थानीयका लागि आजसम्म बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
रावा इनर्जिको आईपीओ स्थानीयका लागि आजसम्म बिक्रीमा

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयमा चैत २३ गतेदेखि जारी गरेको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री खुला गरेको थियो । वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको आईपीओ भने वैशाख १३ गते बाँडफाँट गरिसकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत आरक्षित शेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरेको हो ।

आयोजना प्रभावित स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयको हकमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाउँ विकास समिति ) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।

कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस