
काठमाडौं । अन्नपूर्ण केवलकारले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउँन विक्री प्रबन्धक नियुक्त गरेको छ । वैशाख २७ गते एक कार्यक्रमको आयोजना गरी कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी रू. १ अर्ब ५५ करोड रहेको छ । जारी पुँजीको २० प्रतिशत दरले हुन आउने ३१ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित स्थानीय समेत सर्वसाधारणमा विक्री गर्नेछ ।
केवलकारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ विक्री गर्न लागेको जानकारी कम्पनीका अध्यक्ष गुरुङले दिएका छन् । कम्पनीले प्रति शेयर रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी समेत गुरुङले दिएका छन् ।
पाँच वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको हो । आईपिओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना रहको अध्यक्ष गुरुङको भनाई छ ।
पोखरा महानगरपालिका–१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशन निर्माण गरिएको छ । जसको निर्माण लागत रू. १ अर्ब ९७ करोड रहेको कम्पनीको भनाई छ । कम्पनीका संस्थापकहरूले रू. ९० करोड लगानी गरेको र केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग रू. १ अर्ब ७ करोड कर्जा लिएको जानकारी कम्पनीले दिएको छ ।
केवलकारको माथिल्लो स्टेशन सराङ्गकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भईरहेको छ । यो मूर्ति विश्वकै ठूलो मध्ये एक हुने कम्पनीको दाबी छ । उक्त मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाई रहेको छ । यो मूर्तिसहित भ्यू टावर लगाएतका अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । केवलकार चढेर सराङ्गकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ ।
विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केवलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृङ्खलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ । यस केवलकार परियोजनामा जापानिज निप्पोन केवलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएकाले सुरक्षाको हिसावले बढि सुरक्षित मानिने कम्पनीको भनाई छ ।
२०७८ साल फागुन देखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला रहेको छ । केवलकारको सुरुको स्टेशनदेखि अन्तिमसम्म १३ वटा टावर रहेको छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ । यो केवलकार नेपालमा सञ्चालनमा रहेका केवलकारमध्ये विदेशी लगानीमा निर्माण भएको र हिमालको सबैभन्दा नजिक रहेको नेपालकै पहिलो रहेको दाबी कम्पनीले गरेकोछ ।
प्रतिक्रिया दिनुहोस