काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब ९ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिन वैशाख २८ गतेसम्म ११ लाख ७ हजार २१६ जनाको आवेदन परेको हो ।
यी आवेदकहरूबाट १ करोड २० लाख ७४ हजार ८०० कित्ता शेयर खरीद माग भएको हो ।कम्पनीले सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।
वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । यी वाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ विक्री गरेको हो । यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् ।
कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेस (ज्थबतत एबिअभ प्बतजmबलमग) सञ्चालनमा ल्याएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।
सो अवधिसम्म कम्पनी रू. ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव ०४ रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस