aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

परिसङ्घ र रिकास्टबीच समझदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
परिसङ्घ र रिकास्टबीच समझदारी

काठमाडौं ।  मुलुकमा नवीकरणीय ऊर्जाका स्रोतहरु प्रशस्त रहेकाले प्रविधिको समुचित उपयोग गर्दै अघि बढ्न विज्ञान प्रविधि तथा नवीनताका लागि अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको उपलक्ष्यमा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले जनताको बहुआयामिक उत्थानका लागि ऊर्जा प्रविधिको विकास र प्रवद्र्धनको महत्वूर्ण भूमिका हुने भएकाले सरकार, प्राज्ञिक वर्ग, विज्ञ र व्यावसायीहरु हातेमालो गरी सहकार्य गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका डा रवीन्द्रप्रसाद ढकाल, ऊर्जा व्यवसायी कुशल गुरुङ्गले नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि अवसर र चुनौतीहरुका साथ अध्ययन, अनुसन्धान र व्यावसायिक चुनौती र समाधानका उपायहरुका बारेमा प्रकाश पारे ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र परिसङ्घबीच नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरियो । उक्त अवसरमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धानका लागि सहकार्य गर्ने नीति लिएको बताए । रिकास्टका कार्यकारी निर्देशक प्राडा रामेश्वर अधिकारीले निजी क्षेत्र र उद्यमीहरुका साथ केन्द्रले सहकार्य गर्दै प्राज्ञिक क्षेत्रका क्रियाशीलता अभिवृद्धि गर्न सकिने भएकाले परिसङ्घसँग सहकार्यका लागि समझदारी गरिएको उल्लेख गरे  । 

नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धन गर्नका लागि विभिन्न महत्वपूर्ण निकायहरुका साथ सहकार्य गर्न यसअघि परिसङ्घले राष्ट्रिय गाउँपालिका महासङ्घ नेपाल, नगरपालिका महासङ्घ नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र चीनको छिह्वा विश्वविद्यालयका साथ सहमतिपत्रमा हस्ताक्षर गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस