aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रावा इनर्जिको आईपीओ स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
रावा इनर्जिको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा चैत २३ गतेदेखि वैशाख २४ गतेसम्म आईपीओ विक्री गरेको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर विक्री गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ १ गते आईपीओ बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री खुला गरेको थियो । वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको आईपीओ भने वैशाख १३ गते बाँडफाँट गरिसकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत आरक्षित शेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरेको हो ।

पहिलो चरणको आईपीओ विक्रीपछि अब कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारी, सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ विक्री गर्नेछ । यस कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस