aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटी होटलको आईपीओ सर्वसाधारणमा बाँडफाँट, करिब ५ हजारको आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
सिटी होटलको आईपीओ सर्वसाधारणमा बाँडफाँट, करिब ५ हजारको आवेदन रद्द

काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी जेठ ५ गते विहान बाँडफाँट गरेको हो । 

कम्पनीले सर्वसाधारणमा १३ लाख ५५ हजार ९४० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि ११ लाख ७ हजार २१६ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड २० लाख ७४ हजार ८०० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ ।

कुल आवेदकहरूमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । योग्य १० लाख ८७ हजार ६७५ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराई योग्य आवेदकहरूमध्ये पनि १ लाख ३५ हजार ५९४ जना आवेदकहरूलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ ।

यस कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब रहेको कम्पनीको जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाख रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम भएको छ । 

यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् । कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा ल्याएको छ ।

यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन, दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भैसकको कम्पनीको भनाई छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनी रू. ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव ०४ रहेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य दोस्रो बजारमा पहिलो कारोबारका लागि पाउने व्यवस्था अनुसार कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८७ दशमलव ८३ देखि अधिकतम रू. २६३ दशमलव ४९ सम्मको मूल्य रेञ्ज पाउनेछ ।
 

प्रतिक्रिया दिनुहोस