ताप्लेजुङ । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् असोज महिनाभित्र केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै विभिन्न परिक्षण उत्पादन शुरु गरिएको छ ।
काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले आर्थिक न्युजडटकमलाई जानकारी दिए । न्यौपानेका अनुसार दशैतिहारसम्ममा कावेली वि वानको विजुली केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि सबै खाले परिक्षण भइरहको बताएका छन् । करिब ४ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त आयोजना पाँच अर्ब लागतमा निर्माण सम्पन्न भएको हो । कूल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् ।
ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत् पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेशनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिन अघि मात्रै काबेली करिडोरको सवस्टेशन निर्माणको कार्यसमेत सम्पन्न भएको छ ।
शुरुमा रु चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र केन्द्रीय प्रशारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजनाको अवधि लम्बिदा लागत बढेर रु पाँच अर्ब पुगेको न्यौपाने बताउछन् ।
ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् । त्यस्तै हेवा खोला जलविद्युत आयोजनाबाट उत्पादिन १० मेगावाट विद्युत बुधबारदेखि केन्द्रीय प्रसारणलाईमा जोडिएको छ । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेवा खोलामा तल्लो हेवा जलविद्युत आयोजनाबाट उक्त विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।
प्रतिक्रिया दिनुहोस