aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छः घिसिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताएका हुन् । 

घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर पाउने उल्लेख गरे । सञ्चयकोषले यसअघि माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी, मध्यभोटेकोशी जस्ता आयोजना लगानी गरिसकेको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव आठ मेगावाट क्षमताको आयोजनामा कोषले रु १३ अर्ब ७४ करोड बराबरको लगानी गर्ने भएको हो । निर्माण अवधिको ब्याजसहित रु २१ अर्ब १४ करोड बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकलरुपमा नै लगानी गर्न लागेको हो ।  

जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई शेयर बिक्री गरेर स्वपुँजी इक्विटीबाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस