aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय बीमा संस्थानले ल्यायो घर बसीबसी बीमा गर्ने सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
राष्ट्रिय बीमा संस्थानले ल्यायो घर बसीबसी बीमा गर्ने सुविधा

काठमाडौं । संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय बीमा संस्थानले आफ्नो मोबाइल एप लञ्च गरेको छ । तत्काललाई एन्ड्रोइडका युजरहरुले प्रयोग गर्न सक्ने गरी संस्थानले एप सञ्चालनमा ल्याएको हो ।

एप प्रयोग गर्नका लागि प्रयोग कर्तालाई युजर र पासवर्ड दिइएको हुन्छ । जसलाई प्रयोग कर्ताले पहिलो प्रयागमा (एटिएम जसरी नै) परिवर्तन गरेर चलाउन सक्ने छन् । पासवर्ड बिर्सिएको खण्डमा (फर्गेट पासवर्डको अप्सन मार्फत) नयाँ पासवर्ड राख्न समेत सकिने छ ।

एपमा तत्काल भने डिजिटल पेमेन्ट सिस्टम नरहेको र चाँडै नै (खल्ती, इ-सेवा) प्रयोगमा ल्याउने र सोही मार्फत प्रिमियम भुक्तानी गर्न सकिने संस्थानले जनाएको छ । तत्काललाई भने रकम भुक्तानी गर्न बैङ्कमा रकम जम्मा गरेर भौचरको प्रयोग गरी भुक्तानी पुरा गर्न सकिने छ ।

उक्त एपको प्रयोगबाट नयाँ ग्राहाकहरु (साउन एक गतेबाट बीमा संस्थानमा संलग्न रहेका ग्राहाकहरु) ले सेवा लिन सक्ने छन् भने पुराना ग्राहाकहरुको विवरण यही आर्थिक वर्ष भित्रमा एपमा हाली सक्ने संस्थानको भनाई छ । एपमा विवरण हाल्ने काम सकिए पश्चात् पुराना ग्राहाकहरुलाई समेत युजर पासवर्ड उपलब्ध गराउने  संस्थानको योजना रहेको छ ।

तत्काल नेपाल बैङ्क र वाणिज्य बैङ्कका सबै शाखाहरू र अन्य केही बैङ्कहरूबाट समेत रकम भुक्तानी गर्न सकिने संस्थानले जनाएको छ । 

बिमा संस्थानमा नयाँ बिमा गराउन चाहने सर्वसाधारणले बैङ्क मार्फत भुक्तानी गरेर एप मार्फत नै प्रक्रिया अघि बढाउन सक्ने र बीमाको कार्यालय धाउनु नपर्ने संस्थानका आइटी प्रतिनिधिहरूको भनाई छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माले यो एप सुरुवात मात्र रहेको बताएका छन् उनले भने ‘यो एप सुरुवात मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र माग अनुसार नयाँ नयाँ सुविधाहरू पनि थप्दै लैजाने छौ ।’ उनले अघि थपे ‘यसमा डिजिटल पेमेन्ट थप्नुका साथै अनलाइन सुविधा पनि सके सम्म चाँडो ल्याउने प्रयास गर्ने छौ । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संस्थानका प्रशासनिक अधिकृत कविप्रसाद पाठकले सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीव्र बनाएको बताएका छन् । उनले भने ‘हामीले हाम्रो व्यवसाय अघि बढाउने सन्दर्भमा हाम्रो गति तीव्र बनाइसकेका छौ ।’ उनले थपे ‘ हामी यो कार्यको थालनीसँग सँगै नागरिक लगानी कोष मार्फत आएको राष्ट्रिय सेवक कर्मचारीहरूको तीन लाख १८ हजार पोलीसीहरु पनि एपमा समावेश गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस