aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
नेपाल रिपब्लिक मिडियाको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरी जेठ २४ गते बाँडफाँट गरिएको हो । 

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न अनुमति पाएसँगै कम्पनीले कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर विक्री गरेको हो । 

कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  यी वाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

सर्वसाधारणले छिटोमा जेठ ३० गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ८ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै माग बमोजिम आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न सुरु गरेको हो । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।

प्रतिक्रिया दिनुहोस