aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमाको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री महत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमाको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. महतले दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन्् । शुक्रबार नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन २०२३ को उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

सम्मलेनमा बोल्दै अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताए । 

अर्थमन्त्री डा. महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याउँदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको बताए । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सरकारले कृषिबीमाको प्रवद्र्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरु कार्यान्वयनमा ल्याएको जानकारी दिए । 

अध्यक्ष सिलवालले बीमा क्षेत्रका नियामक निकायहरुले नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरु सहितको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने बताए ।

सम्मेलनको आजको दोस्रो दिनको सत्रमा जलवायु परिवर्तनका चुनौती र बीमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषि बीमाको विकास र अभ्यास सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

यसअघि सम्मेलनको पहिलो दिन, हिजो विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरुको सहभागितामा भएको सत्रमा नेपाली बीमा क्षेत्र तथा नियामकीय ढाँचा, रिक्स वेश स्लोभरीको कार्यान्वयन, जोखिममा आधारित पूँजीगत ढाँचा, बीमा क्षेत्रमा नवीनतम् डिजिटल प्रविधि र बीमा व्यवसायको विकासका लागि नियामक निकायहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।

इन्टरनेशनल एशोसियशन अफ इन्स्योेरेन्स सुपरभाइजर, एशियन डेभलपमेन्ट र एक्सिस टु इन्स्योरेन्स इनिसेटिभको सहयोगमा आयोजित तीनदिने सम्मेलनको मूल विषय ‘बिल्डङ रिसाइलेन्स अफ इन्स्योेरेन्स टुवार्डस इमर्जिङ रिक्स’ रहेको छ ।

भोलिसम्म हुने सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस