काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अनुमति नै नदिएको कमोडिटी मार्केटमा लगानी गर्न काठमाडौँ चन्द्रागिरिका विनय लामिछाने आफन्तहरूसँग लिएको रकम सबै डुबेपछि उनको दम्पती नै ६ महिने र दुई वर्षे छोराहरू सहित २०७६ पुस २९ गते त्रिशूलीमा हाम्फाले । प्रहरीले उनको घरबाट बरामद गरेको सुसाइड नोटमा लेखिएको थियो - ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’
तर, धितोपत्र बोर्डबाट अनुमति लिएको भन्दै अवैध कारोबार मार्फत १२ सय जना भन्दा धेरैलाई ठगी गर्ने गिरोहका नाइकेहरूलाई भने बिहीबार उच्च अदालत पाटनले नाम मात्रैको रकम धरौटीमा छोडेको छ । ती व्यक्तिहरूबाट आफुहरु ठगिएको भन्दै ६८ जनाले १० करोड ७४ लाख १६ हजार रुपैयाँ असुल गरिदिन भन्दै गरेको उजुरी परेपछि पक्राउ परेका ठगहरू अदालती फैसलासम्म आइपुग्दा मुख्य आरोपी जितेश सुरेन्द्रन २० लाख, सुनिल श्रेष्ठलाई १० लाख र नरेन्द्र प्रसाद भट्ट ५ लाख धरौटीमा रिहा भएका छन् ।
ग्राहकहरूलाई झुक्काएर ३ अर्ब भन्दा बढी रकम ठगी गरेको स्वीकार गरेका आरोपी २० लाख धरौटीमा छुटेको सन्दर्भ जति रोचक लाग्छ त्यति नै रोचक यो ठगी प्रकरणका मुख्य आरोपी जितेश सुरेन्द्रनले गरेको साबिती बयान छ । प्रस्तुत छ, उनले आफ्नो अपराध स्वीकार गर्दै गरेको साविती बयान:
गैह्र कानूनी कारोबार गरेका हौँ
विश्वव्यापी रुपमा यो Market लामो समय देखी चली आएको छ । नेपालमा भने कानूनी व्यवस्था थिएन, Mercantile Exchange Nepal Ltd.. (MEX Nepal) Self-Regulatory Organization (SRO) Commodity Market सञ्चालन गर्दै आएको थिए । हाल बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४, बस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४, बस्तु विनिमय संचालन गर्न अनुमति एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका २०७८ आई नीतिगत व्यवस्था भई नेपाल धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोकिएको छ । कानुन आए पछि Mercantile Exchange Nepal Ltd. (MEX Nepal)
निष्क्रिय भयो । त्यसपछि Mercantile Exchange Nepal Ltd. (MEX Nepal) को शेयर होल्डरहरूमध्ये मुख्य शेयर होल्डर बालकृष्ण उपाध्याय, शेयर होल्डर दीपेन्द्र कुमार खतिवडा, Himalayan Clearing Corporation Pvt. Ltd (HCC) को मुख्य कर्मचारी (Finance Head) Mhammed Rifi तथा उक्त HCC का सञ्चालकहरू, शेयर होल्डरहरू टेकराज भट्ट र उर्मिला श्रेष्ठको समन्वयमा उल्लेखित दुवै कम्पनीहरूलाई समावेश गरी Commodity Market सञ्चालन गर्न म तत्कालीन Exchange MEX Nepal को CEO समेत रहेको तथा नेपालमा उक्त मार्केटको सुरुवाती देखिनै सञ्चालनमा मेरो अपरिहार्य महत्त्वपूर्ण भूमिका रहेकोले MEX Nepal निष्क्रिय भएता पनि सो मार्केट निरन्तर सञ्चालन गर्न Chief Consultant तथा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी मलाई दिई इजाजत बिना नै म र मेरो निर्देशनमा अन्य कर्मचारीहरूले उल्लेखित कम्पनीहरू मार्फत हाल सम्म कमोडिटी मार्केट सञ्चालन गरी आएको छौ ।
Mercantile Exchange Nepal Ltd. (MEX Nepal), तथा Himalayan Clearing Corporation Pvt. Ltd. (HCC) को यकिन उद्देश्य थाहा भएन । उक्त कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पछि नेपाल धितो पत्र बोर्डबाट कमोडोटी मार्केट संचालन गर्ने इजाजत लिई इजाजत पत्रलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाई कमोडिटी मार्केट संचालन गर्नु पर्नेमा हाल सम्म नेपाल धितो पत्र बोर्डबाट इजाजत नलिई गैह्र कानूनी तवरले सञ्चालन गरी आएका छौ। उल्लेखित कम्पनीहरूबाट गैह्र कानूनी रुपमा कमोडिटी मार्केट संचालन गरिएको हुँदा काठमाडौँ जिल्ला का.म.म.पा.वडा नं. १ सानो गौचरमा Imperium Financial Academy Pvt. Ltd. को छद्म भेषमा कार्यालय संचालन गरिएको छ । हाल सम्म कुनै पनि ठाउँमा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छैनन् ।
Imperium Financial Academy Pvt. Ltd. ( IMFA) वित्तीय क्षेत्रको तालिम प्रदान गर्ने उद्देश्येका साथ उत्सव न्यौपानेको प्रत्यक्ष संलग्नतामा निजको एकल स्वामित्व रहने गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको छ। निजको वतन जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्धमा र बुबाको नाम दिनेश कुमार शर्मा हो । उत्सव न्यौपाने मेरो आफ्नै सालो भाइ हुन् । कमोडिटि मार्केबाट मनग्ये आम्दानी गर्न सकिने
भएकोले भविष्यमा कमोडिटि मार्केटमा Exchange मा लगानी समेत गर्ने उद्देश्यले उक्त कम्पनी मेरो समेत सल्लाह बमोजिम दर्ता गरेका हुन् । म समेतले संचालन गरेको कमोडिटी मार्केट गैह्र कानूनी भएको हुँदा Imperium Financial Academy (IMFA) को छद्म भेषमा संचालन गर्न उत्सव न्यौपानेले मलाई दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर समेतका कागजात उपलब्ध गराई सहयोग गरेका हुन् । निजकै सहयोगमा Imperium Financial Academy (IMFA) को छद्म भेषमा गैह्र कानूनी तवरले म समेतले कमोडिटि मार्केट संचालन गरेका हौ ।
कम्पनीहरूको एक मात्र आम्दानी क्लाइन्टले गुमाएको रकम
Mercantile Exchange Nepal Pvt. Ltd. (MEX Nepal) तथा त्यसका सेयर होल्डरहरू, Clearing House अन्तरगतको Himalayan Clearing Corporation Pvt. Ltd. तथा त्यसका सेयर होल्डरहरू र Brokers कम्पनीको सञ्चालकहरूले समेतले Clearing House को खातामा क्लूइन्टहरूले जम्मा गरेको रकमबाट कमिसन लगायतको विभिन्न शीर्षकमा रकम प्राप्त गर्दछन् ।
मैले उक्त बजार संचालन गरे बापत शेयरहोल्डरहरुसँग गरेको मौखिक सम्झौताका विभिन्न शीर्षकमा रकम प्राप्त गर्ने गरेको छु । अन्य कर्मचारीहरूलाई तलब तथा बोनस लगायतका विभिन्न शीर्षकहरूमा रकम प्रदान गर्ने गरिएको छ । कारोबारको नाफा नोक्सानमा Clearing House, Market Makers तथा Traders सहभागी हुन्छन् उक्त कमोडिटि मार्केटमा कमाउने क्लाइन्ट नगण्य मात्रामा हुने हुँदा उक्त कम्पनीहरूको एक मात्र आम्दानी क्लाइन्टले गुमाएको रकम नै हो ।
उक्त बजारमा संलग्न कम्पनी तथा सेयर होल्डरहरूले प्राप्त गर्ने रकम सम्बन्धमा यकिन रकम भन्न सक्दिन । हालसम्म पनि उक्त कम्पनीका सेयर होल्डरहरूले निरन्तर विभिन्न शीर्षकमा विभिन्न माध्यमबाट रकम बुझ्दै आएका छन् । वित्तीय प्रणालीबाटै रकम प्राप्त गर्ने गर्छन्। Sub-Broker ले Broker बाटै सिधै रकम प्राप्त गर्दछन् । प्राप्त गर्ने रकमको श्रोत Client ले बस्तु खरिद गर्न जम्मा गरेको रकम नै हो ।
छद्म भेषमा ठगेका हौँ
नेपाल धितो पत्र बोर्डबाट अनुमति लिएर मात्र कमोडिटी मार्केट संचालन गर्नु पर्नेमा तत्काल सो सम्बन्धमा इजाजत लिन नसकेको तथा उक्त बजारमा रहेका ग्राहकहरूले निरन्तर कारोबार गर्दे आइरहेको र सो मार्केटबाट ठुलो मात्रमा मुनाफा कमाई सो कम्पनीहरूले मलाई मनग्ये रकम समेत विभिन्न शीर्षकमा दिएको तथा कुल नाफाको १०% सम्म बोनस स्वरूप रकम प्रदान गर्दै आएकोले लोभ परी उक्त कमोडिटी मार्केट मेरो सालोको नाममा दर्ता भएको Imperium Financial Academy (IMFA) को छद्म भेषमा संचालन गर्दे आएको हुँ ।
सन् २००८ देखि Mercantile Exchange Nepal Ltd मा कार्यकारी प्रमुखको रुपमा मैले सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएकोमा सन २०१८ पश्चात् उक्त Mercantile Exchange Nepal Ltd. निष्क्रिय Himalayan Clearing Corporation Pvt. Ltd (HCC) मा मैले उक्त कम्पनीको कार्यकारी प्रमुख लगायत सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आई रहेको हु । म समेतले कमोडिटी मार्केट सन २००८ देखी नै संचालन गर्दे आएकोमा सन २०१८ (मिति २०७४ साल) मा बस्तु विनिमय सम्बन्धी कानुन आए पश्चात् पनि कानुन बमोजिम इजाजत लिनु पर्नेमा इजाजत नलिई गैह्र कानूनी रुपमा म समेतको संलग्नतामा संस्थागत संरचना कायम गरी, सङ्गठित रुपमा Mercantile Exchange Nepal Ltd (MEX Nepal), Himalayan Clearing Corporation Pvt. Ltd (HCC) लगायतका कम्पनीहरूले मार्केट संचलान गर्दे आएको हुँदा सङ्गठित रुपमा ठगी गरेको भनी प्रतिवेदन पेश भएको हुनु पर्छ ।
धेरै कमाउने लोभमा पर्नु गल्ती भयो
उक्त कम्पनीहरूमा सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरी कार्यकारी प्रमुखको रुपमा काम काज गर्दै जाने क्रममा उक्त कम्पनीहरूले निरन्तर रुपमा नाफा कमाउने, सो नाफा मध्येबाट बोनस लगायत विभिन्न शीर्षकमा रकम प्राप्त गर्ने र सोही मध्यमाबाट मनग्य आम्दानी प्राप्त गर्दे आएकोले कानूनी मान्यता प्राप्त नगरेता पनि छद्म भेषमा कमोडिटी मार्केट सम्बन्धी काम काज गर्दे आएको हुँ । आधिकारिक Statement को सम्बन्धमा म सँग Client हरूको प्रत्यक्ष सम्पर्क नहुने तथा गेह कानूनी रुपमा लुकी छद्म भेषमा उक्त मार्केट संचालन गरेको कारण म समेतलाई सम्पर्क विहीन भएको भनी जाहेरी दरखास्त दिएको हुनुपर्छ । कानूनी मान्यता प्राप्त नगरी मनग्ये आम्दानी कमाउने उद्देश्यका साथ उक्त मार्केट संचालन गर्नु मेरो गल्ती भयो।
गैह्र कानूनी रुपमा कमोडिटी मार्केट संचालन गर्नु मेरो गल्ती भयो । जाहेरवालाहरूले कमोडिटी मार्केटमा कारोबार गर्न Himalayan Clearing Corporation Pvt. Ltd (HCC) को खातामा नै निजहरूले रकम डिपोजिट गर्ने हुँदा तथा सो कम्पनीको सम्पूर्ण व्यवस्थापकीय भूमिका मैले निर्वाह गरी उक्त कम्पनीलाई ठुलो मात्रमा नाफा दिलाई मेरो खातामा समेत उक्त रकमहरू मध्येबाट आएको आम्दानी तथा नाफाबाट तलब, बोनस तथा विभिन्न शीर्षकहरूमा मनग्य आम्दानी प्राप्त गर्दे आएको छु । सोही कारण जाहेरवालहरू ठगिएकाले जाहेरी दरखास्त पेश गरेका हुन् ।
कानूनी मान्यता प्राप्त नगरी हामीले कमोडोटी मार्केट छद्म भेषमा संचालन गरेका हौ, कर्मचारीहरूले पनि गैह्र कानूनी भन्ने जानकारी हुँदा हुँदै कार्य गरी मलाई सहयोग गरी आएका हुँदा गैह्र कानूनी कार्य गर्नको लागी थप सुविधाको माग गर्दे दबाब स्वरूप मलाई सम्बोधन गरी निवेदन पेश गरेका हुन् ।
तीन अर्ब रुपैयाँ कम्पनीले ठगेको हो
सो रकम Kapp Software Nepal Pvt. Ltd. बाट Muhammed Rafi र मैले कन्सल्टेन्टको भूमिका निर्वाह गरे बापत प्राप्त गर्ने गरेको रकम हो । मेरो भारतीय बैङ्क HDFC मा करिब ३० लाख भारतीय रुपैयाँ फिक्स डिपोजिटमा राखेको छु । MEX NEPAL, NEPAL SBI Bank EVEREST BANK समेतमा मेरो Signator चल्ने गरी खाता सञ्चालनमा छ ।
सो सम्बन्धमा उक्त रकमहरू क्लाईन्टहरुले कमोडिटी मार्केटमा कारोबार गर्ने उद्देश्यका साथ Himalayan Clearing Corporation Pvt. Ltd. को बैङ्क खातामा हाल सम्म जम्मा गरेका रकम हो । सोही रकम मध्यबाट क्लाईन्टहरुले कारोबार गरी नाफा नोक्सानमा समेत सरिक हुने गर्दछन् मैले संचालन गर्दै आएको कमोडिटी मार्केटमा क्लाईन्टहरुले जम्मा गरेको Total Deposit बाट Withdraw गरेका (रु. 3, 38, 14, 99, 197.26/-) रकम बाहेक बाँकी रहेको सम्पूर्ण रकम (रु. 3, 00, 35, 55, 147.79) कमोडिटी मार्केटमा संलग्न कम्पनीहरूले प्राप्त गर्दछन् ।
कुन कुन कम्पनीले कति कति प्राप्त गरे यकिन विवरण मलाई याद भएन। ओक्टुवर महिनामा ८२३ तथा नोभेम्बर महिनामा ५२२ वटा नयाँ क्लाईन्ट थप गर्न मैले उक्त महिनाहरूमा नयाँ आउने क्लाईन्टहरुलाई रु.१०,०००/- डिपोजिट गरेमा कम्पनीको तर्फबाट थप १०,०००/- हामीले ट्रेड गर्न मात्र मिल्ने झिक्न नमिल्ने गरी थपि दिने योजना ल्याएको कारण सो सख्यामा नयाँ क्लाईन्टहरु थपेका हुन् । म समेतले संचालन गरेको कमोडिटी मार्केटमा कुल 12,259 क्लाईन्टहरु रहेका छन् भने दैनिक सबै प्रडक्टहरू गरी कुल करिब १,००० लट कारोबार हुने गर्दछ । मैले कमोडिटी मार्केट संचालन गर्न MEX NEPAL Software, Applications, प्रयोग गर्दे गराउँदै आइरहेको छु । गैह्र कानूनी रुपमा कमोडिटी मार्केट संचालन गरी क्लाईन्टहरुले जम्मा गरेको रकम संस्थाहरूलाई प्रयोग गरी म समेतको व्यक्तिगत रुपमा आर्जन गर्नु गल्ती भयो ।
गैर कानूनी काम हुनाले छुट्टाछुट्टै ठाउँमा बस्थ्यौँ
सूर्य कुमार श्रेष्ठ KAPP Software Nepal Pvt. Ltd. का सञ्चालक शेयर होल्डर तथा Himalayan Clearing Corporation Pvt. Ltd का कर्मचारी समेत हुन् । म तथा Finance Head Muhammed Rafi समेत भारतीय नागरिक भएकोले श्याम काजी घिमिरे उक्त कम्पनीमा लामो समय देखि काम काज गर्दै आएकाले निजलाई चेक साट्ने, रकम डिपोजिट गर्ने लगायतको आर्थिक काम कारबाहीमा संलग्न गराउँदै आएका थियौ । राजेन्द्र नेपाल HCC का लेखा काम गर्ने महत्त्वपूर्ण व्यक्ति हुन र Muhammed Rafi HCC कम्पनीको फाइनान्स हेड हुन् । उनैले सम्पूर्ण वित्तीय व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।
हाम्रो काम कारबाहीमा प्रत्यक्ष भेटघाट नहुने तथा गैर कानुनी रुपमा कामकाज गर्दै आएकोले समेत छुट्टाछुट्टै ठाउँबाट काम काज गर्दै आएकोले समेत के कुन स्थानबाट के- कसरी काम काज गर्छन्, निजहरूको यकिन वतन समेतको विवरण मलाइ जानकारी भएन ।
प्रतिक्रिया दिनुहोस