aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साकार हुँदैछ महिला उद्यमीको सपना, दक्षिण एसियाकै दोस्रो हरित औद्योगिक पार्क बन्दै

  • रिता राउत
    रिता राउत
  • मंगलबार, ३० जेठ २०८०

काठमाडौं । नेपालका महिला उद्यमीहरूले करिब पाँच वर्ष अगाडी परिकल्पना गरेको आयोजना हो, महिला उद्यमी हरित औद्योगिक पार्क । जुन अहिले साकार हुने चरणमा पुगेको छ ।   

यो परियोजना सुरु गर्न तीन वर्षदेखि महिला उद्यमीहरूले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मलाई गुहारे । यो दौरानमा धेरै मन्त्रीहरू परिवर्तन भए । तर, उनीहरूले हारगुहार गर्न छोडेनन् । तीन वर्षको दौडधुपपछि भने आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले उनीहरूको रहर सम्बोधन गरिदिएको छ ।   

अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक गरेको आगामी आवको बजेटमा भनिएको  छ, ‘काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामको रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड बजेट विनियोजन गरेको छु ।’ 

साकार हुँदैछ सपना  

यस्तो परियोजना छिमेकी मुलुक भारतमा पाँच वटा कार्यान्वयनमा रहेको छ । तर, नेपालमा यस्तो अवधारणा भित्र्याउन महिला उद्यमीहरूलाई त्यति सहज भने भएन । दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो औद्योगिक पार्कका रूपमा यो पार्क स्थापना भइरहेको छ । 

हुन त यो औद्योगिक ग्राम निर्माणको काम भने कोरोना महामारी भन्दा अगाडीदेखि नै सुरु भएको हो । जसलाई अहिले महिला उद्यमी हरित औद्योगिक पार्कका रूपमा नाम दिइएको हो । कोरोना महामारीका कारण निर्माणको काममा ढिलाइ भएकाले अहिले भने औद्योगिक पार्क निर्माणको काम भइरहेको छ ।    

निर्माणाधीन यस औद्योगिक ग्रामलाई महिला औद्योगिक ग्रामकारुपमा अघि बढाउने यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले समेत निर्णय गरेको छ । यस पार्कका लागि पाँचखाल नगरपालिकाले एक सय रोपनी जग्गा २५ वर्षको लागि भाडामा दिएको छ । यसलाई कृषि पर्यटन औद्योगिक पार्ककारुपमा प्रवर्द्धन गरिने भएको छ ।

यो परियोजना राष्ट्रिय योजना आयोगको १४ औँ योजनासँग पनि पंत्तिबद्ध रहेको छ । जसले लघु, साना र मझौला उद्यमीको लागि उत्कृष्ट पूर्वाधार सुविधाहरूसहित औद्योगिक, साना र मझौला आकारका कम्पनीहरूलाई विस्तार गर्ने आवश्यकता परिपूर्ति गर्ने परिकल्पना गरेको छ ।

दक्षिण एसियाली महिला विकास मञ्चको उपाध्यक्ष समेत रहेकी बागमती प्रदेशकी सांसद यांकिला शेर्पाले यस्ता पार्क निर्माण सबै प्रदेशमा आवश्यक रहेको बताइन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘कुनै परिवारको एक महिला सदस्य उद्यमी बन्न सकेमा उसको परिवारका अन्य सदस्यहरू पनि यसमा जोडिन्छन् । यसले गर्दा यस्ता पार्क निर्माणलाई सकारात्मकरुपमा लिनु पर्छ । सबै प्रदेशमा निर्माण गर्न आवश्यक रहेको छ ।’

त्यस्तै, उनले यो औद्योगिक पार्कले धेरै युवाहरूलाई रोजगारी दिन सकिने बताइन् । उनले भनिन्, ‘रोजगारीका लागि विदेशिने युवाहरूको सङ्ख्या धेरै छ । यो औद्योगिक पार्क निर्माण पछि धेरै युवाहरूलाई रोजगारी दिन सकिन्छ ।’

सांसद शेर्पाले नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । उनले मिडियालाई यो पार्कबारे चेतना जगाउन र समाजका सदस्यहरूलाई समर्थन गर्न प्रोत्साहित गर्न र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्य पहलहरू गर्न आग्रह गरिन् । आफू सांसद भएको हैसियतले सरकारसँग लबिङ गर्न र महिलाको आवाजलाई बढाउने प्रयास गर्ने समेत उनले प्रतिबद्धता जनाइन् ।

बजारीकरणमा सहजता 

हरित औद्योगिक पार्क नाम दिइएको यो पार्कमा महिला उद्यमीका उद्योग स्थापना हुनेछन् । यहाँ इको टुरिज्ममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिनेछ । यो पार्कले विशेषगरि महिला उद्यमीहरूलाई फाइदा पुग्ने पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बताए । 

उनले भने, ‘हाम्रा उत्पादनहरूले बजार नपाएका कुरा हामीले धेरै देखेका छौँ । यो सञ्चालनमा आएपछि हामीले हाम्रो उत्पादनलाई ब्राण्डिङ गर्न सहज हुने भएको छ । यससँगै महिलाहरू सहभागी हुने भएकोले विशेषगरि महिला उद्यमीहरूलाई फाइदा पुग्छ ।’

यो पार्कको निर्माणले कृषकका लागि फाइदाहरू हुने देखिएको छ । जसमा किसानहरूको उत्पादकत्व वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधारको निर्माण, प्रभावकारी आपूर्ति शृङ्खला प्रणाली, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना समावेश छ ।

कसले पाउँछन् लाभ ?  

‘अहिले किसानहरूले उत्पादन गरेको वस्तुहरूको उचित मूल्य पाएका छैनन् । बारीबाट टिपेर कालीमाटी बजारसम्म आइपुग्दा अनेकौँ बिचौलियाहरू भेटिन्छन् । यो सबैलाई हटाएर कृषकका उत्पादनहरूले पाँचखालमा नै उचित मूल्य पाउने भएका छन् । यसो हुँदा कृषकको लगानी डुब्दैन’, नगर प्रमुख खरेलले भने । 

यो पार्क निर्माणका लागि तीन करोड रुपैयाँ खर्च भइसकेको दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्यले बताइन् । उनले भनिन्, ‘हामीले यो पार्क ९६ करोड रुपैयाँ लागतमा बनाउन लागेका हौँ । जसमा तीन करोड रुपैयाँ खर्च भइसकेको छ । पूर्वाधार निर्माणको खर्च सरकारको हुनेछ भने बाँकी उद्योगको लागि उद्यमी आफैको लगानी हुनेछ ।’

उनले काभ्रेपलान्चोक पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरेको निर्णयमा नेपाल सरकारप्रति आभार व्यक्त गरिन् ।

सरकारले विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्रामको अवधारणाको व्यवस्था गरेको छ । महिला उद्यमी र हरित अर्थतन्त्रका लागि औद्योगिक क्षेत्र/पार्क स्थापना गर्न आवश्यक र महत्त्वपूर्ण रहेको उनले बताइन् । उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिकाको महत्वलाई जोड दिइन् ।

त्यस्तै, महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पार्कमा तीन वटा अवयवहरू रहेको जानकारी दिइन् । जसमा विभिन्न जातीय संस्कृति शिल्पको प्रत्यक्ष सिप र खानाको प्रवर्द्धन गरिनेछ । यसका साथै स्थानीय कच्चा पदार्थ कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापना गरिनेछ । जुन २५ वटा लघु उद्यमीहरू र २५ वटा स्टार्ट अप हुनेछन् ।

यसकारण हरित

फोहोर व्यवस्थापन र पुनः प्रयोग, फोहोर पानी प्रशोधन र पानीको पुनः प्रयोग, हरियो बेल्ट, वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ । ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा सोलार रुफ टप सोलार एलईडी सडक बत्तीहरू, स्वच्छ प्रविधिहरू, नवीकरणीय ऊर्जा प्रविधिहरू, लागत प्रभावी साझा पूर्वाधार र कुशल व्यवस्थापन प्रणालीहरू रहनेछन् ।

साझा सेवा केन्द्रहरू अन्तर्गत प्रशिक्षण केन्द्रहरू, गोदामहरू, कोल्ड स्टोरेज र साझा मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, र ग्रेडिङसँग सम्बन्धित मेसिनरी हुने छन् ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्य रहेको रिजालले जानकारी दिइन् । यसमा प्रत्यक्ष /अप्रत्यक्षगरि करिब पाँच हजार जनाले रोजगारी पाउने समेत रिजालले जानकारी दिएकी हुन् । 

उनका अनुसार यस परियोजनाले हरित अर्थतन्त्रलाई  प्रवर्द्धन गर्नेछ । यसका साथै कृषकहरूको उत्पादकत्वमा वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधारको सृजना, उत्पादक, प्रोसेसरहरुको क्षमता अभिवृद्धि, व्यावसायिक उत्पादनमा नवीन विचार, प्रविधि र सिपहरू प्रयोग गर्न मद्दत गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस