
काठमाडौं । चालु आर्थिक वर्षको दश महिना अर्थात् वैशाख मसान्तसम्म ११ अर्ब रुपैयाँ भन्दा बढीको पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो ।
पछिल्लो समय बीमा पोलिसी त्याग्नेको सङ्ख्या धेरै बढेको देखिएको छ । तथ्याङ्क अनुसार गत साउन महिनादेखि यता ११ अर्ब ३४ करोड ४६ लाख ९३ हजार रुपैयाँ बराबरका ८२ हजार ६४८ पोलिसी सरेन्डर भएका छन् ।
मुलुकमा देखिएको आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरूको सङ्ख्या बढेको जीवन बीमक सङ्घका उपाध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण रमण पराजुली बताउँछन् ।
उनी भन्छन्,'‘पछिल्लो समय बीमा पोलिसी त्याग्ने बीमितहरुको सङ्ख्या बढेको छ । पोलिसी सरेन्डर गर्नुमा केही समयदेखि देखिएको मुलुकको आर्थिक मन्दी पनि मुख्य कारण हो । बीमितहरुमा पोलिसिलाई निरन्तरता दिने क्षमता घटेको देखिन्छ । बीमा भनेको जोखिम बहन मात्र भएर बचत पनि हो ।आर्थिक रुपमा सहजता भएपछि मात्रै मान्छेहरूले बीमा गरेका हुन्छन् । आम्दानीका स्रोत घट्दै जाँदा पैसाको चाप बढ्दै गएपछि मान्छेहरूले पोलिसी सरेन्डर गर्न थालेका हुन् ।’
पछिल्लो समय बीमा पोलिसी त्याग्नेहरूको सङ्ख्या बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले नयाँ व्यवस्था पनि लागु गर्यो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । समितिको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।
यस अघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्थे । सरेण्डर गर्नेको सङ्ख्या बढ्दै गएपछि प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको थियो । नयाँ व्यवस्था लागु गरेसँगै पोलिसी त्याग्ने क्रम रोकिने प्राधिकरणको विश्वास थियो । तर, प्राधिकरणले नयाँ व्यवस्था लागु गरे पनि सरेन्डर गर्नेहरूको सङ्ख्या झन् बढ्दै गएको पाइएको छ ।
सङ्घका उपाध्यक्ष पराजुलीका अनुसार कतिपय पोलिसीहरु प्राधिकरणले तोकेको समयभित्र सरेन्डर भएका छन् भने केही पोलिसीहरु लामो समय चलेका पनि सरेन्डर भएका छन् । मन्दीको मारमा परेपछि अरू आर्थिक आवश्यकतालाई प्राथमिकतामा राखेर बीमालाई कम प्राथमिकतामा राखेको उनको भनाई छ ।
बीमा पोलिसी सरेन्डर बढ्नुमा ओभर इन्स्योरेन्स पनि अर्को कारण रहेको छ । अभिकर्ताले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण पनि प्रिमियम तिर्न नसकेर पोलिसी सरेन्डर गर्ने गरेको बीमा विज्ञहरूको भनाई छ ।
तर, सङ्घका उपाध्यक्ष पराजुली भने केही पोलिसिलाई आधार बनाएर ओभर इन्स्योरेन्स भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, '‘सैद्धान्तिक हिसाबले पनि आम्दानीको १० प्रतिशत बीमाका लागि छुटाउनुपर्छ भन्छौँ । केही पोलिसी ठूला होलान् । तर, अरू सानो पोलिसिलाई पनि ओभर इन्स्योरेन्स भन्न मिल्दैन ।’
उनका अनुसार बीमाका बारेमा जानकारी दिन र सचेतना फैलाउन बीमा प्राधिकरणले पनि स्थानीय तहमा बीमाको बारेमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू गरिरहेको छ । हरेक तहबाट बीमा सम्बन्धी कार्यक्रमहरू भइरहेका छन् प्राधिकरणले पनि कार्यक्रमहरू चलाइरहेको छ । क्षेत्रगत रुपमा पनि कार्यक्रमहरू भएका छन् । यतिले मात्रै पनि पुग्दैन । यस बाहेकका अतिरिक्त कार्यक्रमहरू पनि आवश्यक रहेको उनको भनाई छ । ।
पोलिसी सरेन्डरलाई कम गर्न रोक्न संस्थागत रुपमा मात्रै पनि सम्भव नभएको उनको भनाई छ । उनले भने, '‘संस्थागत रुपमा मात्रै बीमा सरेन्डरलाई रोक्न सकिँदैन । बीमालाई अनिवार्य रुपमा लागु गर्न पनि आवश्यक छ । यसका साथै बीमा सरेन्डर गर्दा बीमित आफैलाई पनि घाटा हुने हुँदा यसबारे पनि बुझाउन आवश्यक छ ।’
वैशाखमा मात्रै १० हजार बीमितले त्यागे पोलिसी
प्राधिकरणका अनुसार चालु आवको वैशाख महिनामा मात्रै १० हजार भन्दा बढी बीमितले पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा हाल सञ्चालनमा रहेका १५ बीमा कम्पनीका १० हजार ७९७ बीमितले एक अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफका इन्स्योरेन्स कम्पनीका सर्वाधिक पोलिसी सरेन्डर भएका छन् । वैशाखमा नेपाल लाइफका २ हजार ३८७ बीमितले ३१ करोड ९८ लाख ४५ हजार रुपैयाँ बराबरको बीमालेख त्यागेका हुन् । त्यस्तै, दोस्रोमा एसियन लाइफका २ हजार ६७६ बीमितले ३१ करोड ८५ लाख ७८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा संस्थानका एक हजार ४४२ बीमितले १० करोड ३४ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् भने लाइफ इन्स्योरेन्स कम्पनीका एक हजार ३४८ बीमितले १५ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
त्यस्तै, यस अवधिमा नेशनल लाइफका ७९० बीमितले ७ करोड ८७ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । मेट लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख १७ हजार रुपैयाँ बराबरको ४०३ वटा, आईएमई लाइफको एक करोड ९ लाख ४१ हजार रुपैयाँ बराबरको १०५ वटा र सन नेपाल लाइफको ३७ लाख ४२ हजार रुपैयाँ बराबरको ५२ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, चालु आवको वैशाख महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ११३ बीमितिले ६८ लाख ७९ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् भने सिटिजन लाइफका १२२ बीमितले ९४ लाख ३५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्सका २०१ बीमितले ८ करोड ५८ लाख ८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार वैशाखमा महालक्ष्मी लाइफका ५८ लाख ३ हजार रुपैयाँ बराबरको ४८ वटा, सूर्य ज्योति लाइफको ६ करोड रुपैयाँ बराबरको २७३ वटा, सानिमा रिलायन्स लाइफको एक करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको १२५ वटा र हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको ५७७ बीमालेख सरेन्डर भएका छन् ।
कुन महिनामा कति भए सरेन्डर
प्राधिकरणका अनुसार यस अवधिमा सरेन्डर भएका बीमा पोलिसीमा साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको ८ हजार ३२२ बीमा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै, भदौमा एक अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँका ६ हजार ६३ वटा, कात्तिकमा एक अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार ७४६ वटा, मङ्सिरमा एक अर्ब एक करोड ६२ लाख ३१ हजार रुपैयाँ बराबरका ७ हजार ६५० वटा बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार चालु आवको पुस महिनामा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरका ६ हजार ७८२ वटा, माघमा एक अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९, फागुनमा एक अर्ब ८ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरका ८ हजार ९३९ र चैतमा एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ बीमालेख सरेन्डर भएका छन् ।
नेपाल लाइफका मात्रै तीन अर्ब बढीका पोलिसी सरेन्डर
चालु आवको दश महिना अर्थात् वैशाख महिनासम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले सर्वाधिक बीमा पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा उक्त कम्पनीका २४ हजार भन्दा बढी बीमालेख सरेन्डर भएका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफका २४ हजार ८३ बीमितले ३ अर्ब ८५ लाख ८३ हजार ४८ रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन्
प्रतिक्रिया दिनुहोस